जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ मा हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ मा हुने


२१ जेष्ठ २०७९, शनिबार


खलङ्गा । जुम्ला जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ २९ गते हुने भएको छ ।

सदरमुकाम खलङ्गास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालकाका अनुसार २०७९ यही जेठ २९ गते हुने निर्वाचनका लागि २१ गते मतदाता नामावली प्रकाशन, २४ गते उम्मेदवारी दर्ता, २७ गते निर्वाचन चिह्न प्रदान गरिने भएको छ ।

प्रमुख र उपप्रमुखसहित नौ सिटका लागि निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए ।

यसैगरी जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने छन् । जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह छन् ।

नेपाली काँग्रेसले पाँच अध्यक्षसहित दुई उपाध्यक्ष र चन्दननाथ नगरपालिकामा उपप्रमुख जितेको छ । काँग्रेसले कनकासुन्दरी, हिमा, पातारासी, गोठीचौर र तातोपानी गाउँपालिकाको अध्यक्षमा विजय हात पारेको छ भने हिमा र कनकासुन्दरी गाउँपालिकाको उपाध्यक्ष तथा चन्दननाथमा उपप्रमुखमा काँग्रेसले जीत हासिल गरेको छ ।

यस्तै माओवादी केन्द्रले सिँजा र तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित सिँजा, पातारासी गाउँपालिकामा उपाध्यक्ष माओवादीले जितेको छ ।

नेकपा एकीकृत समाजवादीले गुठीचौर गाउँपालिकामा उपाध्यक्ष तथा स्वतन्त्र उम्मेदवार राजुसिँह कठायतले चन्दननाथ नगरपालिकामा नगरप्रमुखमा विजयी भएका छन् । जम्मा १६ मतदातामध्ये आठ काँग्रेस, छ माओवादी, एक समाजवादी र एक स्वतन्त्र उम्मेदवार छन् । नेपाली काँग्रेसले समन्वय प्रमुखको नेतृत्व लिने करिब पक्का देखिएको छ । काँग्रेसलाई बहुमत पुग्न एक मत आवश्यक पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस