नेपाली सेनाद्वारा प्रदेश १ लाई हेलिकोप्टर प्रदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली सेनाद्वारा प्रदेश १ लाई हेलिकोप्टर प्रदान


२० जेष्ठ २०७९, शुक्रबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले प्रदेश नं. १ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयको रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनका सिलसिलामा प्रयोगात्मक अभ्यासका लागि उपयोगी हुने गरी हेलिकोप्टर प्रदान गरेको छ ।

यस आर्थिक वर्ष ०७८/७९ बाट सञ्चालन गरेको विश्वविद्यालयका लागि सेनाको स्वामित्वमा प्रयोगविहीन अवस्थामा रहेको एनए–०३९ चिता हेलिकोप्टर–सीएच–०५९ दिएको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को वैशाख २५ गतेको निर्णयअनुसार सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश नं. १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त एक थान हेलिकोप्टर र सोसँग सम्बन्धित ४७ वटा पार्टपुर्जाहरू गौचरस्थित मध्य एयर वेशमा आयोजित समारोहमा शुक्रबार हस्तान्तरण गरिएको जङ्गी अड्डाले जनाएको छ ।

भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकोप्टर, भारतबाट २०५८ मङ्सिर २६ मा सेनालाई सहयोगस्वरूप प्राप्त भई निर्माता कम्पनीले तोकिदिएको उडान समयावधि पूरा गरी उडान बन्द रहेको थियो ।

मनमोहन प्राविधिक विश्वविद्यालयले उक्त हेलिकोप्टर र यसमा प्रयोग हुने केही जगेडा सामग्रीहरू प्राप्त गरेपछि अध्ययनरत विद्यार्थीहरूको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्नमा सहयोग पुग्ने विश्वास सेनाले लिएको छ ।

साथै, भविष्यमा पनि सेनाद्वारा हवाई साधन मर्मत तथा उडानसम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप तथा यस्ता किसिमका अध्ययन सामग्रीहरू हस्तान्तरण गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस