तारा एयर दुर्घटना स्थलबाट थप शव काठमाडौँ ल्याउने तयारी, एउटा अझै भेटिएन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तारा एयर दुर्घटना स्थलबाट थप शव काठमाडौँ ल्याउने तयारी, एउटा अझै भेटिएन


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरूको थप शव काठमाडौँ ल्याउने तयारी गरिएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट सोमबार १० वटा शव काठमाडौं ल्याइएको थियो। दुर्घटनास्थलमा रहेका चार शवलाई आज बिहानै मुस्ताङकै कोवाङमा झारिएको छ। कोवाङमा रहेका शवलाई आज काठमाडौँ ल्याउने तयारी छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले दुर्घटनास्थलबाट थप चार वटा शव कोवाङ झारिएको बताए।

उनकाअनुसार एउटा शव खोजी कार्य जारी छ।

जहाजमा रहेका २२ मध्ये २१ यात्रुको शव फेला परिसकेको छ। एक शव खोजीका लागि सुरक्षाकर्मीहरू बिहानैदेखि दुर्घटना स्थलमा परिचालन गरिएका छन्।

आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहान मात्रै फेला परेको थियो।

सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस