शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् ।

कोअर्डिनेटर अधिकारीले पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।

कलेजका कोअर्डिनेटरसमेत रहेका अधिकारीले आफूसँगै सुत्न र त्यसो नगरे रेस्टिकेट परिदिनेसम्मको धम्की दिइएको विद्यार्थीहरूले दाबी गरेका छन् । कोअर्डिनेटर अधिकारीले पीडित बालिकालाई जबरजस्ती क्याफेमा लगेर संवेदनशील अङ्ग छोएको, आफ्नै घरमा बस्न दबाब दिएको लगायतका आरोप लगाएका छन् ।

किशोरीले विद्यालय जाँदा स्कर्ट लगाउँदा पनि स्कर्टका सम्बन्धमा अश्लील र भद्दा कमेन्ट गर्ने गरेको र फेसबुकमार्फत पनि बारम्बार यौन हिंसा गरेको विद्यार्थीले आरोप लगाएका छन् ।

माध्यमिक तहमा सामाजिक विषयका शिक्षक समेत रहेका अधिकारीले कक्षा ११ र १२ का मात्रै नभएर साना बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको आरोप छ । विद्यार्थीहरूले ती शिक्षकलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई दबाब दिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस