कर्णालीमा कसले कति स्थान गुमायो कसले बढायो ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्णालीमा कसले कति स्थान गुमायो कसले बढायो ?


९ जेष्ठ २०७९, सोमबार


जाजरकोट । स्थानीय तहको निर्वाचनको मतपरिणमाले कर्णाली प्रदेशमा दलहरुको कुनै ठाउँमा प्रभाव खस्किएको छ भने कतै बढेको पाइएको छ ।

प्राप्त मत परिणामअनुसार काँग्रेस पहिलोमा, नेकपा (माओवादी केन्द्र) दोस्रोमा र नेकपा एमाले तेस्रो स्थानमा पुगेका छन् भने केही स्वतन्त्र उम्मेदवार पनि विजय हात पारेका छन् ।

नेपाली काँग्रेसले स्थानीय तहको चुनावलाई भरपुर सदुपयोग गरेको पाइएको छ । डोल्पामा प्रभाव नभएको काँग्रेसले अहिले ठूलीभेरी नगरपालिका जितेको छ ।

जाजरकोटमा दुई पालिकामा मात्र सीमित काँग्रेस अहिले तीन पालिकामा फराकिलो भएको छ ।

अघिल्लो चुनावमा रुकुम पश्चिममा एक पालिका नजितेको काँग्रेसले अहिले दुई पालिकामा जित हात पारेको छ ।

विसं २०७४ मा २४ पालिकामा मात्र जितेको काँग्रेसले अहिले ३२ पालिकामा जित हात पारेको छ ।

रुकुम पश्चिमका दुई, सुर्खेतका चार, जाजरकोटका तीन, हुम्लाका तीन, कालिकोटका दुई, जुम्लाका पाँच, मुगुका दुई, डोल्पाका एक, सल्यानका पाँच र दैलेखका पाँच पालिकाको नेतृत्व लिन काँग्रेस सफल भएको हो ।

यस प्रदेशमा नेपाली काँग्रेसबाट प्रमुखमा १२, अध्यक्षमा २०, उपप्रमुखमा १०, उपाध्यक्षमा १७, वडाध्यक्षमा २५३, महिला सदस्यमा २५३, दलित महिला सदस्यमा २१७, वडा सदस्यमा ४६८ गरी कूल एक हजार २५० उम्मेदवार निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रले पहिला प्रभाव रहेका पालिकामा अहिले हार व्यहोर्नु परेको छ । जुम्लाको गुठीचौर, जाजरकोटको जुनिचाँदे, रुकुम पश्चिको बाँफीकोट, मुसिकोट लगायत स्थानमा हार व्यहोर्नु परेको हो ।

विसं २०७४ मा २६ पालिकामा जितेको माओवादीले अहिले तीन पालिकामा प्रभाव गुमाएर २३ स्थानमै चित्त बुझाउनु परेको छ ।

उक्त दलले रुकुम पश्चिमका चार, सुर्खेतका एक, दैलेखका दुई, जाजरकोटका एक, हुम्लाका तीन, कालिकोटका पाँच, जुम्लाका दुई, मुगुका एक, डोल्पाका दुई र सल्यानका दुई पालिकाको नेतृत्व लिएको हो ।

विसं २०७४ को निर्वाचनमा एउटा पनि पालिका नजितेको माओवादीले यस पटक दैलेखमा दुई र सुर्खेतमा एक पालिकामा विजय हासिल गरेको छ ।

उक्त दलबाट पाँच प्रमुख, १८ अध्यक्ष, पाँच उपप्रमुख, २०उपाध्यक्ष, २२३ वडाध्यक्ष, २१५ महिला सदस्य, २२२ दलित महिला सदस्य, ४१५ वडा सदस्य गरी कूल एक हजार १२३ उम्मेदवार निर्वाचित भएका छन् ।

नेकपा ९एमाले०बाट छ प्रमुख, नौ अध्यक्ष, आठ उपप्रमुख, १२ उपाध्यक्ष, १८४ वडाध्यक्ष, १९१ महिला सदस्य, १९२ दलित महिला सदस्य, ४३५ वडा सदस्य गरी कूल एक हजार ३७ उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन मतपरिणम अनुसार नेकपा एमालेलाई सबैभन्दा ठुलो क्षति भएको छ । विसं २०७४ को निर्वाचनमा २६ पालिकाको नेतृत्व लिएर पहिलो दल बनेको एमाले यस पटक तेस्रो स्थानमा खुम्चिएको छ ।

एमालेले कर्णालीका कालिकोट, हुम्ला, मुगु, जुम्ला र रुकुम पश्चिमका कुनै पनि पालिकाको नेतृत्व लिन सकेन तर सुर्खेतका चार, दैलेखका चार, जाजरकोटका तीन, डोल्पाका दुई र सल्यानका दुई पालिकाको मात्र नेतृत्व पाएको छ ।

नेकपा ९एकीकृत समाजवादी०ले डोल्पाका दुई, मुगु र सल्यानका एक÷एक पालिकाको नेतृत्व पाएको छ ।

उक्त दलबाट चार अध्यक्ष, दुई उपप्रमुख, चार उपाध्यक्ष, २९वडाध्यक्ष, ३८ महिला सदस्य, २८ दलित महिला सदस्य र ७४ वडा सदस्य गरी कूल १७९ उम्मेदवार निर्वाचित भएका छन् ।

नेपाल मजदुर किसान पार्टीबाट सात वडाध्यक्ष, सात महिला सदस्य, छ दलित महिला सदस्य, ११ वडा सदस्य गरी कूल ३१ उम्मेदवार निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक वडाध्यक्ष, दुई महिला सदस्य, एक दलित महिला सदस्य, वडा सदस्य सात गरी कूल ११ उम्मेदवार निर्वाचित भएका छन् ।

यस पटकको निर्वाचनमा हुम्लाको चङ्खेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

विसं २०७४ को निर्वाचनमा सल्यानमा एक र डोल्पाका तीन पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।

यो पटक स्वतन्त्रबाट प्रमुख पदमा दुई, अध्यक्षमा तीन, उपाध्यक्षमा एक, वडाध्यक्षमा २०, महिला सदस्यमा नौ, दलित महिला सदस्यमा १०, वडा सदस्यमा २३ गरी कूल ६८ उम्मेदवार निर्वाचित भएका छन् ।

यस प्रदेशका प्रमुख पदमा २५, अध्यक्षमा ५४, उपप्रमुखमा २५, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ७१७, महिला सदस्यमा ७१६, दलित महिला सदस्यमा ६७७, वडा सदस्यमा एक हजार ४३३ गरी कूल तीन हजार ७०१ उम्मेदवार निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस