खेलाडी विवाद छानबिन समिति गठन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खेलाडी विवाद छानबिन समिति गठन


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबिचको विवादको सत्य तथ्य पहिचान गर्न कमिटी गठन गरेको छ ।

एन्फाको आज बसेको कार्यसमिति बैठकले राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडी र प्रशिक्षकबिच भएको विवादको विषयमा सत्य तथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समितिको गठन गरेको हो ।

एन्फाले नेपाली सेनाका पूर्वउपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो । कमिटीमा पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा छन् ।

कमिटीले सात दिनभित्र छानबिन गरेर एन्फालाई प्रतिवेदन पेस गर्नेछ । मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै यही वैशाख १३ गते १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

क्याम्प छाडेका खेलाडीले होटेल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताइरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर प्रशिक्षण छाडेको खेलाडीले बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस