रामचन्द्र पौडेल : ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

रामचन्द्र पौडेल : ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरूका बिचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् ।

तनहुँको भानु नगरपालिकामा काँग्रेसका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरूका बिचको पवित्र गठबन्धन भएको बताए । उनले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूका बिचमा गठबन्धन भएको दाबी गरे ।

उनले सत्तारुढ दलहरूका बिचमा मात्र नभएर एमालेको नेतृत्वमा पनि चुनावी गठबन्धन भएको भन्दै पौडेलले केपी ओली नेतृत्वको गठबन्धन पुरातनवादी प्रतिगामी भएको बताए । पौडेलले काँग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र काँग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘चुनावमा जाँदा जनतामा कन्फ्युजन हुने कुरा बोल्न हुँदैन । विकास र राजनीतिलाई लिएर जान काँग्रेस चाहन्छ । गाउँको विकास र लोकतन्त्र जोगाउँछौ । लोकतन्त्र संविधान जोगाउन गठबन्धन गरेको हो । राजनीति स्थायी गरेर विकासको बाटो डोर्‍याउन गठबन्धन गरिएको हो ।’ उनले काँग्रेसले विदेश पलायन हुने अवस्था रोक्नका लागि गाउँमै रोजगारीको अभियान थाल्न लागेको बताए । काँग्रेसले कम्युनिष्टहरुले जस्तो जनतालाई कहिल्यै नझुक्याएको पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस