श्रम मन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रम मन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ ।

मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उनी चार दिने मलेसिया भ्रमणमा जान लागेको मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्री श्रेष्ठसँग यहाँ स्थित मलेसियाको राजदूतावासका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले मन्त्रालयमा भेटवार्ता गरे । भेटवार्तामा उनीहरूबिच द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे । मलेसियाका कार्यवाहक राजदूत फ्याजलले उनको मलेसिया भ्रमण र त्यसका एजेन्डाबारे छलफल गरेका थिए ।

मन्त्री श्रेष्ठका साथमा सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालसहितको टोली बुधवार दिउँसो मलेसिया जाने कार्यक्रम छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृह मन्त्रालयका सचिव र सामाजिक सुरक्षा सङ्गठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल–मलेसिया संयुक्त समितिको बैठकका एजेन्डा तय गरिनेछ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने र श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यान्वयनका विषयमा नेपाली प्रतिनिधिमण्डलले छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मूलकका रूपमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस