नवौँ राष्ट्रिय खेलकुदको तयारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नवौँ राष्ट्रिय खेलकुदको तयारी


४ बैशाख २०७९, आइतबार


कास्की । सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ ।

दुई वर्षअघि हुनुपर्ने सो प्रतियोगिता कोरोनाका कारण स्थगन भएकामा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।

सरकारले प्रतियोगिताको मिति तोकेसँगै यहाँका सरोकार भएका निकायले आवश्यक प्रारम्भिक तयारी सुरु गरेका छन् । प्रतियोगिताका लागि मुख्य गरी खेल पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति आवश्यक रहेको उनीहरूले औँल्याएका छन् ।

पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद निश्चित भएसँगै क्षेत्रीय खेलकुद विकास समितिमार्फत प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेलको प्रस्ताव गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङले बताए ।

उनले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति तत्कालै सुरु गर्नु अहिलेका लागि महत्त्वपूर्ण विषय रहेको उल्लेख गरे । उनले भने, ‘राष्ट्रिय खेलकुदलाई भव्यरूपमा सफल बनाउनका लागि खेल पूर्वाधार नै महत्त्वपूर्ण हुन्छ । अधिकांश खेलका पूर्वाधार तयार भए पनि केहीको स्तरोन्नति गर्नु आवश्यक छ ।’

राष्ट्रिय खेलकुद आयोजना हुनु पूर्व देशका ७७ जिल्ला र सातै प्रदेशमा खेलाडी छनोटका प्रतियोगितासँगै बन्द प्रशिक्षणलगायतका कार्यक्रमसमेतलाई अघि बढाउनुपर्ने हुन्छ । प्रतियोगितामा कम्तीमा ३६ वटा खेल प्रस्तावका रूपमा अघि सारिएको सदस्य गुरुङले जानकारी दिए ।

राखेपका पूर्व सदस्य एवं अग्रज खेलाडी खड्गबहादुर रानाभाटले प्रतियोगिता आयोजनाको अवसरलाई चुनौतीका रूपमा ग्रहण गर्दै चार दशकअघिको इतिहास दोहोर्‍याउने जिम्मा पोखरेलीहरूको काँधमा आएको बताए । उनले सबै पोखरेली तथा प्रदेशवासीले प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपले सातै प्रदेशका सदस्यसचिव सम्मिलित बैठकको आह्वान गरेको छ । सोको तयारीका लागि शनिबार गण्डकी प्रदेश परिषदले पोखरामा सुझाव सङ्कलन गरेको थियो ।

पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा प्रदेश खेलकुदका सदस्यसचिव तेजबहादुर गुरुङले नवौँ राष्ट्रिय खेलकुदको तयारीस्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशका रूपमा उठाउनुपर्ने विषयमा सुझाव सङ्कलन गरिएको बताए ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले राष्ट्रिय खेलकुद आयोजनाको हिसाबमा छोटो समय भए पनि यसलाई सफल बनाउन प्रदेशवासी एकजुट हुनुपर्ने बताए ।

प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङले सरकारले गण्डकीमा प्रतियोगिता आयोजना गर्ने निर्णय स्वागतयोग्य रहेको बताउँदै प्रदेश खेलकुद र राष्ट्रिय खेलकुद परिषदबिच रहेका विभिन्न प्रशासनिक झन्झटबाट मुक्त हुनुपर्ने उल्लेख गरे ।

नवौँ राष्ट्रिय खेलकुदका लागि खेलकुद पूर्वाधार स्तरोन्नतिका राखेपबाट यस वर्ष पोखरामा रु १७ करोड विनियोजन गरिए पनि कार्यक्रम कार्यान्वयन सुरु हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस