शिक्षक सेवा परीक्षा पास गराइदिने भन्दै ६० लाख असुलेर फरार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शिक्षक सेवा परीक्षा पास गराइदिने भन्दै ६० लाख असुलेर फरार


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै परीक्षार्थीबाट ६० लाखभन्दा बढी रकम असुलेर दुई जना फरार भएका छन् । कालिकोट गेलाका जगत शाही र मनराज शाही शिक्षक सेवा आयोग दिन सुर्खेत आएका परीक्षार्थीबाट ६० लाख असुलेर फरार भएका हुन् ।

उनीहरूले सुर्खेत मंगलगढीको एक इन्स्टिच्युट र एमपीजे मःमः सेन्टरबाट हस्तलिखित प्रश्न उत्तरसहितको फोटोकपी बाँड्दै रकम असुलेको पीडितहरूले बताएका छन् । आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर पास गराउने भन्दै परीक्षार्थीबाट प्रतिव्यक्ति दुई लाखका दरले पैसा उठाएका थिए । आफूहरू ठगिएको भन्दै ३० जनाभन्दा बढीले मौखिक रूपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जानकारी दिएका छन् ।

१५ चैतबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा पास गरिदिने भन्दै प्रतिव्यक्ति दुई लाखका दरले रकम उठाएर प्रश्न पत्रसहित उत्तर लेखेर पठाइदिने सर्तमा पैसा उठाएको कालिका माध्यमिक विद्यालय शुभकालिका गाउँपालिका कालिकोटका शिक्षक खेमराज शाहीले बताए ।

फरार जगत शाहीले परीक्षा समयअघि नै प्रश्न पत्र लिक गराउने सर्तमा परीक्षार्थीबाट रकम असुलेको र परीक्षार्थीले प्रश्न पत्र उपलब्ध नगराएको कालिकोट खाँडा चक्र नगरपालिका रामबहादुर शाहीले बताए । ‘मसँग दुई लाख रुपैयाँ माग गरेपछि दिएँ,’ उनले भने, ‘मलाई कुनै उत्तर पुस्तिका र प्रश्न पत्र पनि दिइएन । पछि खोज्दा उनको मोबाइल स्विच अफ गरिएको थियो ।’

प्रहरीले जगत र उनका सहयोगी मनराज शाहीलाई खोजी गरिरहेको जनाएको छ । प्रशिक्षार्थीहरूको गुनासो आएकाले अनुसन्धान भइरहेको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख पदम विष्टले बताए । उनीहरूले कालिकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेतलगायत जिल्लाका परीक्षार्थीबाट पैसा असुलेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस