फेरि सपनाहरू « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फेरि सपनाहरू


९ चैत्र २०७८, बुधबार


वृन्दावनस्थित एक प्रसिद्ध आश्रम । त्यहाँ  सांसारिक नश्वर जीवन र जन्म जन्मान्तरको आवागमनबाट छुटकारा चाहने मुमुक्षुजनहरु आप्तकामिनी नामले प्रख्यात साध्वीको प्रवचन सुन्न जम्मा भएका छन् । सन्सारी मायाजालरुपी भवबन्धनबाट मुक्ति चाहने त्यो विशाल समूहमा केही नेपालीहरूको पनि उपस्थिति छ । ती  नेपालीमध्ये प्रमुख मोक्षकामी महानुभाव हुन् अतिरञ्जन कर्माचार्य ।

विद्वान मनस्विनी आप्तकामिनीको प्रवचन सुरु भयो । ‘उपस्थित महानुभावहरू र श्यामसुन्दरको भक्ति भावको रसमा तल्लीन मेरा आदरणीय महिला वृन्द ! सदा हँसिलो र रसिलो रहने नारदजीलाई दुःखी र चिन्तातुर हुँदै भौँतारिइरहेको देखेर ऋषिहरूले बडो विनम्र भावमा सोधे  , तपाईँ जस्तो आशक्ति र शोकले रहित पुरुषलाई चिन्ता मग्न अवस्थामा देख्दा हामीलाई आश्चर्य लागेको छ । तपाईँ यसरी उदास हुनुको कारण के हो ? नारदले उत्तर दिनुभयो , म सर्वोत्तम लोक सम्झेर पृथ्वीमा आएको हुँ । म धेरै ठाउँमा घुमेँ , किन्तु कहीँ पनि सन्तोषजनक शान्ति देख्न सकिन । घोर कलियुगले समस्त पृथ्वीलाई गाँजेर राखेको रहेछ । सत्य , तप र शौच जस्ता पवित्रता , करुणा र सद्भाव कतै देख्न सकिन । मनुष्यको ध्यान जसरी हुन्छ आफ्नो पेट पाल्नेमा सीमित रहेको देखेँ । साधु – सन्तहरूमा असत्य भाषण र पाखण्ड व्याप्त रहेछ ।

म घुम्दै फिर्दै वृन्दावन पुग्दा त्यहाँ मैले एउटा आश्चर्यजनक दृश्य देखेँ । त्यहाँ एक परम सुन्दरी युवतीको अलग – बगलमा दुई जना वृद्ध पुरुषहरू लम्पसार सुतिरहेका थिए । मलाई अत्यन्तै जिज्ञासा लाग्यो र सोधेँ  , हे युवती ! तिमी को हौ ? यी तिम्रो साथमा रहेका वृद्धहरू को हुन् ? मेरो प्रश्न सुनेर विरहिणी युवतीले रुँदै भनिन् ,मेरो नाम भक्ति हो । यी दुई वृद्धहरू  मेरा छोरा ज्ञान र वैराग्य हुन् । घोर कलिको कारण यस धराधाममा न भक्ति रह्यो न त ज्ञान र वैराग्य नै । अनि हामी तीनै जना दुर्बल र प्रभाहीन हुँदै वृद्ध वृद्धामा परिणत भयौँ  । जब हामी वृन्दावन आइपुग्यौ , म त पुनः सुन्दर युवती भएँ , परन्तु यी मेरा प्यारा छोराहरू वृद्धका वृद्ध नै रहिरहे ।’

फेरि सङ्गीतमय भजन सुरु भयो । आप्तकामिनीले मधुर मुस्कानसहित सङ्गीतको तालमा गाउन थालिन् , ‘सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नम: । निगमकल्पतरोर्गलितं फलम् शुकमुखादमृतद्रवसंयुतं पिवत भागवतं  रसमालयं मुहुरहो रसिका भुवि भावुका ।’

आज अतिरञ्जन बडो प्रसन्न छन् । साध्वीको चञ्चल चितवनयुक्त मधुर वाणीबाट उनी अत्यन्त मुग्ध भए ।आज उनलाई आफू साँच्चै  मुमुक्षु भएको महसुस भयो । उनले मनमनै सोचे , आखिर उनले यो संसारमा आएर के पाए  ? समस्त जीवन लोभ गरेर बित्यो । जसरी हुन्छ सम्पत्ति जोड्ने ध्याउन्नका दास भए उनी । परन्तु के उनको कमाइ खानेहरू  खुसी भए ? रतिञ्जनले महाकवि देवकोटाको अन्तिम  कविता सम्झे , ‘रहेछ संसार निशा समान आएन जिउँदै रहँदा नि ज्ञान ।’  उनले मनमनै विचार गरे , कलियुगमा काम लाग्ने भनेको भक्ति मात्र रहेछ । अब सारा सांसारिक तृष्णालाई परित्याग गरेर भगवान् श्यामसुन्दरको भक्तिमा तल्लीन हुनुपर्छ ।

साध्वी आप्तकामिनीको जन्म पश्चिम नेपालको तराईस्थित एक सहरमा भएको थियो । उनी  प्रतिभाशाली छात्रा थिइन् । उनको त्रिभुवन विश्वविद्यालयमा उच्चतर शिक्षा हासिल गर्ने सपना थियो । आप्तकामिनीका दुई जना दाइहरू अविवाहित नै थिए । तीन जना बहिनीहरू शुक्ल पक्षका चन्द्रमा जस्तै द्रुत गतिमा हुर्किरहेका थिए । उनी भर्खरै स्नातक उपाधिका लागि परीक्षा दिएर बसेकी थिइन् । एक दिन अकस्मात् पिताले भने , ‘लखनउबाट आज तँलाई  हेर्न आउँदै छन् ।’  उनको विवाह नभई दाइहरू विवाह गर्न तयार थिएनन् ।

दिदीको विवाह नभई बहिनीहरूको बाटो अवरुद्ध हुन्थ्यो । अर्कोतर्फ भविष्यका लागि कल्पना गरेका अनेकौँ योजना र सपना थिए । आमाले सम्झाउँदै  भन्नुभयो , ‘तिमी आफ्नै लागि मात्र बाँच्ने हो कि दाइहरू , बहिनीहरू र हामी आमाबाबुको लागि पनि  ? मनुष्य भएर जन्मेपछि परिवार , समाज र सभ्यताप्रतिको दायित्वको ख्याल गर्नुपर्छ । छोरी मान्छे त्याग गर्न पनि तयार हुनुपर्छ । हाम्रा पूर्वज नारीहरूले त्याग गरे , हामीले त्याग गर्‍यौँ र तिमीले पनि गर्नुपर्छ ।  पढ्न मन लाग्नेले विवाह गरेपछि पनि पढ्छन् ।’

त्यो दिनको संक्षिप्त प्रवचनपछि साध्वी आप्तकामिनी सबैलाई भोलि बिहान सबेरै भेट्ने बाचा गर्दै आश्रमभित्र पसिन् । एक महिनाको लागि वृन्दावन आएका रतिरञ्जनलाई आश्रमीय जीवनबारेको उत्कण्ठा मेटाउनु थियो । मोक्ष वास्तविक हो कि मनुष्यको कल्पना र बुद्धि विलास मात्र ? भनेर बारम्बार मनमा आउने प्रश्नको निराकरण गर्नु थियो । परापूर्वदेखि चलिरहेको संस्कारले गर्दा भक्ति , ज्ञान , वैराग्य र मुक्तिबारे हार्दिक आस्था भए तापनि बौद्धिक स्तरमा अनेक तरङ्ग उठिरहन्थे । आस्थामा तर्कको स्थान हुँदैन भन्ने बुझेका उनी प्रकटरुपमा सन्देह गर्दैनथे तापनि बुद्धिले भित्रभित्रै प्रश्न गरिरहन्थ्यो , जसलाई रोक्न सक्ने सामर्थ्य उनमा थिएन ।

उनले साध्वीलाई भेटे । मनुष्य यतिसम्म भव्य र आकर्षक हुनसक्दोरहेछ ? रतिरञ्जनले आप्त कामिनीलाई धेरै बेरसम्म आँखामा आँखा राखेर हेर्न सकेनन् । त्यो कान्ति , त्यो प्रसन्नता , त्यो प्रभा र त्यो दिव्य दीप्ति ! शान्त र शृङ्गारहीन प्राकृतिक सौन्दर्यकी प्रतीक थिइन् उनी । रति रञ्जनको रक्त प्रवाह बढ्यो , हृदयको स्पन्दनले  द्रुत गति प्राप्त गर्‍यो । आप्तकामिनीको अनुहार हेर्न छाडेर शरीर मात्र हेर्न थालेका अतिरञ्जन साध्वीको शारीरिक आभा र तेज देखेर झन् भयभीत भए । उनको अनुहार रातोपिरो भयो । साध्वीले अकस्मात् ‘क्या हुवा ?’ भनेपछि मात्र उनी सचेत भए ।

आपका नाम क्या है ? कहाँसे आये ?
मेरा नाम रतिरञ्जन है । रतिरञ्जन कर्माचार्य । मै नेपालसे आया हुँ ।
क्या काम करते है ?
दर्शनशास्त्रका प्रोफेसर हुँ ।
अच्छा तो प्रोफेसर साहब ! पूछिए क्या पूछना है ?
अभी जाता हुँ कल आउङ्गा !

भोलिपल्ट फेरी प्रवचन सुरु भयो । ‘व्यास ऋषिका पुत्र शुकदेवको व्रतबन्ध पनि भएको थिएन । त्यस्तो कलिलो उमेरमै उनी सन्न्यास लिन्छु भन्दै घरबाट निस्केर हिँडे । पुत्र मोहले छटपटाएका ऋषिले  विरहले अत्यन्त काँतर हुँदै भन्न थाले प्यारो पुत्र तिमी कहाँ जाँदै छौ ? सर्वाङ्ग नाङ्गै विचरण गरिरहेका निर्मल र निर्दोष शुकदेवलाई देखेर नजिकै सरोबरमा जलक्रीडा गरिरहेका कन्याहरूले कुनै सङ्कोच मानेनन् । तर सर्वाङ्ग वस्त्र पहिरेका व्यासलाई देखेर ती कन्याहरूले लाज माने । डुल्दै घुम्दै राजा परीक्षितले अनसन गरिरहेको स्थानमा पुगेका शुकदेव परीक्षितलाई भागवत सुनाउन तत्पर भए । यो थाहा पाएका देवताहरू अमृत कलश लिएर गङ्गा किनारमा उपस्थित भए । देवताहरूले शुकदेवलाई अनुरोध गरे , यो अमृत कलश तपाईँ लिनुहोस् , त्यसको विनिमय स्वरूप हामीलाई भागवत सुनाउनुहोस् । परन्तु स्वामीजीले देवताहरूलाई भागवत सुनाउन अस्वीकार गरे । यस्तो देव दुर्लभ छ यो परम पावन भागवत कथा ।

हे मुमुक्षु महानुभावहरू ! वृन्दावन वैरागीका लागि होइन । यो राधा रमणमा समर्पित अनुरागमय भक्तिका लागि हो । वृन्दावन नीरसतामा रम्दैन । यो रसमय भक्ति प्रवाहको तीर्थ हो । यो गोप – गोपीले रास रचेको पावन भूमि हो । भक्त र भगवानबीचको मिलन नै रास हो । मानिसहरू तर्क गर्न थाल्छन् , प्रमाण माग्न थाल्छन् । आस्थामा तर्क हुँदैन , भक्तिमा तर्क हुँदैन , समर्पण र प्रेममा तर्क हुँदैन । धन , पद , ऐश्वर्य , यौवन  र यौनसमेत सबै भगवानमा समर्पण नै रास हो । यहाँ भौतिक शरीरहरूबिच मिलनको प्रयोजन छैन। यो क्षणिक आनन्द लिएर थकित र गलित हुने विषय होइन । यो यस्तो आनन्द हो , जसको न आरम्भ छ , न मध्य र न त अन्त्य नै । ननाच्ने , नगाउने र नहाँस्ने मानिस यहाँ आउनुको अर्थ छैन । वैराग्यका लागि अन्य तमाम तीर्थहरू छँदै छन् । वेदान्तको कारण नीरस भएका जीवनहरूमा रसको अभ्युदय  भएको भूमि हो वृन्दावन । हामीले के बुझ्नु आवश्यक छ भने गीत , सङ्गीत , काव्य र रसमय प्रेम एवं अनुराग नै राधा हो । राधा दैहिक आनन्द होइन , राधा आत्मिक प्रकाश हो , परमानन्द हो ।”

दुई तीन पटक भेट गरिसकेपछि अतिरञ्जन साध्वीसँग खुल्दै गए । बिस्तारै सङ्कोच र लज्जा हराउँदै गयो । साध्वी पनि रञ्जनका कुरा सुनेर रमाउन थालिन् । उनले भनेकी थिइन् , ‘लाखौँ मानिसले यस आश्रममा आएर मलाई सुने । हजारौँले भेटे र प्रशस्त  दक्षिणा दिएर गए । ती हजारौँमध्ये सयौँ सुन्दर , चञ्चल र प्रतिभा सम्पन्न युवकहरू पनि थिए। तीमध्ये कोही पनि मेरो स्मृतिमा रहन सकेन । परन्तु प्रथम भेटको बेला तपाईँको लज्जा मिश्रित  र किञ्चित भयभीत रातोपिरो अनुहारले मलाई जिज्ञासु बनायो । तपाईँ जुरुक्क उठेर गएको भए त्यहीँ नै यो अध्याय समाप्त हुने थियो । किन्तु तपाईँको ‘आज मै जाता हुँ , कल मिलुङ्गा’  भन्ने वाक्यले मलाई तान्यो । यहाँ मलाई एक पटक भेटेको व्यक्तिले दोस्रो पटक भेट्नु परेमा विशेष अनुरोध गरेर पूर्वस्वीकृति प्राप्त गर्नुपर्छ । तपाईँ बडो सङ्कुचित र भयभीत  हुनुहुन्थ्यो तापनि मलाई ‘कल मिलुङ्गा’ शब्द अधिकारपूर्ण लाग्यो ।

मानिसहरू भन्छन् , नाममा के छ ? जे छ सबै काम , दाम ,  दौलत , योग्यता , पद र व्यक्तित्वमा छ । किन्तु होइन , नाममा पनि बहुतै धेरै कुरा छ । जब तपाईँले भन्नुभयो , ‘मेरो नाम रति रञ्जन हो’  मलाई त्यो नामको हेक्का रहन गयो । हेर्नुहोस् त ! यहाँ सबैले  मलाई आप्तकामिनी भन्छन् । तपाईँले  सोच्नुभएको होला मेरो वास्तविक नाम नै त्यही हो । मेरो वास्तविक नाम कामिनी हो । यहाँ मानिसहरू बडो स्वेच्छाचारी छन् । उनीहरूले सोचे होलान् यस्ती स्वनामधन्य मनस्विनीको नाम कामिनी रहिरहनु ठिक छैन । मानिसहरू शब्दसँग भयभीत हुन्छन् यहाँ ।

भगवान् हरिको सहस्र नाममध्ये कामहा कामकृत-कांतः कामः कामप्रदः प्रभुःजस्ता नामहरू  पनि प्रख्यात छन् । भगवान् स्वयं काम हुन्  , काम प्रदान गर्ने र कामको दमन गर्ने पनि उनै हुन्  । तर मानिसहरू बुझ्दैनन् । मानिसहरू आफ्ना कामना जसरी पनि पूरा गरेरै छाड्दछन् , किन्तु बाहिर बाहिर आडम्बर र पाखण्ड देखाउन सिपालु हुन्छन् । म जस्तो व्यक्ति पनि पाखण्डको सहयोगी र परिपूरक बन्नु पर्दा नितान्त ग्लानि हुन्छ । परन्तु अर्को उपाय पनि छैन । उनीहरूले मेरो नामको अगाडि आप्त शब्द जोडेर सत्यको ज्ञाता , सत्य वक्ता र जसका साराका सारा कामना पूर्ण  भएको या भनौँ कुनै पनि कामना शेष नरहेको अर्थ लाग्ने बनाइदिए । यहाँ आफूमा हुँदै नभएका अनौठा गुणले युक्त विशेषण , उपाधि र सम्मानहरू पाएर धन्य हुन्छन् मानिसहरू । मानिसहरू यस्ता यस्ता प्रवञ्चनामा रमाएको देख्दा मलाई उदेक लाग्छ रञ्जनजी । म पनि आप्तकामिनी उपाधि पाएर प्रफुल्ल देखिने प्रयत्न गर्दछु । होइन भनेर प्रतिवाद गर्न थाल्ने हो भने यहाँ मेरो वाणी बिक्दैन ।

भगवान् वासुदेव भन्छन् , ‘अहम् भक्त पराधीनो ह्यस्वतन्त्र इव द्विज । साधुभिर्ग्रस्तहृदयो भक्तैर्भक्तजनप्रिय: ।’  अर्थात्  ‘म सर्वथा मेरा भक्तको अधीनमा छु । मेरा सिधासादा भक्तहरूले मेरो हृदयलाई जितेका छन् । भक्तजन मलाई माया गर्छन् , म उनीहरूलाई माया गर्छु ।’  सायद तपाईँ र मेरो मामिलामा म पनि पराधीन हुन पुगेँ  । भगवानले स्वयं र भक्तबिचको दोहोरो प्रेमको  कुरा गरेका छन् । किन्तु तपाईँ र मेरो मामिलामा के हुने हो मलाई थाहा छैन ।

हप्ताको एक दिन आप्तकामिनी कुनै कार्यक्रममा भाग नलिएर आश्रमभित्रै रहने गर्छिन् । उनले त्यस्तै अवकाशको दिन बिहान रतिरञ्जनलाई निम्ता गरिन् । रञ्जन त्यहाँ पुग्दा आप्तकामिनी मही पारिरहेकी थिइन् । रञ्जन पछाडि मचियामा बसेर हेरिरहे । अब बल्ल उनलाई थाहा भयो साध्वीका अँठिला  पाखुरा , चुस्त शरीर र आरोग्यको रहस्य । आज सार्वजनिक कार्यक्रम नहुने दिन भएको हुँदा उनको भूमिका कन्हैयाकी प्यारी महातारी यशोदा  मैयाँको रहेछ । उक्त दिनमा उनलाई सम्बोधन गर्नेहरूले पनि यशोदा मैयाँ नै भन्दा रहेछन् । आप्त कामिनीको पहिरन र श्रृङगार पनि यशोदाकै जस्तो थियो । मही मथिरहेको ठेकाको नजिकै नन्दलालाको सुन्दर मूर्ति राखिएको थियो । यशोदाले एउटा रिकापीमा नन्दलालाको लागि नौनी राखिदिइन् । उनले  हात जोडेर गाउन थालिन् , ‘करारविन्देन पदारविन्दं मुखारविन्दे  विनिवेशयन्तं वटस्य पत्रस्य पुटे सयानं बालं मुकुन्दं  मनसास्मरामी

सुखावसाने इदमेव सारं दु:खावसाने इदमेव गेयं 

देहावसाने इदमेव जाप्यं गोविन्द दामोदर माधवेती ।’

उनले रञ्जनतर्फ हेर्दै भनिन् , ‘आज म आमाको भूमिकामा छु । नारी भएर जन्मेको जीवका लागि सबैभन्दा आनन्दको कुरा नै सन्तान पैदा गर्नु र हुर्काउनु हो । परन्तु सबैको नियति त्यस्तो सुखकारी हुँदैन । अँ साँच्चै  रञ्जनजी !  तपाईँको परिवारमा को को छन् ?’

– आमा बा बित्नुभयो । दिदीबहिनी विवाह भएर गए । दाजुभाइ छुट्टिएर बसे । एउटा छोरो छ ।

– श्रीमतीको त नामै लिनुभएन । माया लाग्दैन ?

– माया लाग्थ्यो मन लाग्दैनथ्यो  । कर्तव्य पूरा गरिन्थ्यो  , हार्दिक श्रद्धा लाग्दैनथ्यो । हामीहरू कलाहीन क्रियाकलाप गर्थ्यौ  । हाम्रो आपसी व्यवहार करुणाहीन र अशालीन थियो । हामी  श्रीहीन थियौँ , सम्बन्धमा गरिमा थिएन ,  वाणीमा सङ्गीत  थिएन  I नजिकै हुँदा पनि हाम्रो सास चिसो हुन्थ्यो ।  माया लाग्नु र मन लागेर माया लाग्नुमा फरक रहेछ । हामी अहिले सँगै छैनौँ । यसमा कसैलाई दोष दिनुको अर्थ छैन ।

– तपाईँ दार्शनिकहरूको स्वभाव नै यस्तै सुख्खा बगर जस्तै हुन्छ । तपाईँहरू बगरमै रमाउनुहुन्छ , बगरमै लेख्नुहुन्छ र बगरमै मिथ्या तर्क गरेर जीवनलाई जटिल र नीरसिलो बनाउनुहुन्छ । तपाईँहरू सयौँ कोष यात्रा गर्दै जब बगरमा पुग्नुहुन्छ , त्यहीँ अडिनुहुन्छ । तपाईँहरूले यति पनि विचार गर्नुहुन्न कि बगरमा पुग्नु भनेको नदीको नजिक पुगिएको सङ्केत हो । मायालाई त्यति सस्तो पनि नमान्नुहोस् कि यो जसले र जहिले चाह्यो प्राप्त होस् । माया बगरमा हुँदैन महाशय ! माया नदीमा हुन्छ । तपाईँहरू त्यस्तो फुटबल  खेलाडी जस्तै हो जो लामो परिश्रमपछि आफ्नो खुट्टामा आएको बललाई गोलपोस्टतर्फ नभई आकाशतर्फ प्रहार गर्दछ । परन्तु मलाई तपाईँप्रति सहानुभूति छ । सायद तपाईँ लामो यात्रा गरेर जुन बगरमा पुग्नुभयो , त्यसको नजिकमा नदी थिएन । सायद त्यो अन्तहीन मरुभूमिको आरम्भ थियो ।

– म एउटा यात्री हुँ कामिनी ! एक यायावर । आज यहाँ छु , भोलि कहाँ पुग्छु थाहा छैन । तथापि म तपाईँलाई हेरेर र तपाईँको मधुर वाणी सुनेर मोहित हुन्छु । आज म यहाँ आएको पच्चीस दिन भयो । अब पाँच दिनपछि फर्कनुपर्छ । जीवन एक यात्रा हो । यात्राको क्रममा अनगिन्ती बिसौनीमा पुगिन्छ । कुनै बिसौनीमा केही लामो समय रोकिनुपर्छ र कुनैमा छोटो । यात्रा गर्दागर्दै पुराना बिसौनीमा भेट भएका पात्रहरू विस्मृत हुँदै जान्छन् , नयाँहरू सम्झनामा रहन्छन् । फेरि तिनीहरू पनि विस्मृतिमा जान्छन् । एक दिन थाहै नपाई यो जीवनयात्रा सकिन्छ र आफ्नो अस्तित्व समेत समाप्त हुन्छ । यात्रामा कहिले खुसी हुने अवसर मिल्छ र कहिले दुःख । ती सबै अस्तित्वको नियम अनुसार बित्दै र विस्मरण हुँदै जान्छन् । तर मेरो जीवनयात्रामा आइलागेको यो वृन्दावनरुपी बिसौनी अविस्मरणीय हुने भयो ।

आज करिब बाह्र वर्षपछि कसैले आफ्नो वास्तविक नामले पुकारेको सुनेर आप्तकामिनी दङ्ग परिन् I तपाईँ ठिक भन्दै हुनुहुन्छ रञ्जनजी । अनायास कोही राम्रो लाग्छ रे । कोहीप्रति अकस्मात् मनमा कौतूहल उत्पन्न हुन्छ रे । शास्त्र भन्दछ ,  यात्रामा राम्रा लाग्ने र असल मानिस भेटिनु सुखद हो , किन्तु उनीहरूप्रति आशक्तिमय अनुराग पैदा हुनु र फेरि भेट्ने इच्छा जाग्नु राम्रो होइन । त्यस्तो घटनाले जीवनको सरल र सहज प्रवाहमा व्यवधान पार्छ । मलाई अहिले सौभरी ऋषि याद आइरहेका छन् । जीवनभर ब्रह्मचर्य पालन गरेका ऋषि  नितान्त वृद्धावस्थामा पुगेपछि  पोखरीमा गोही गोहीनीको प्रणय देखेर विचलित भए । त्यसैले कतिपय साधु र साध्वीहरु त्यस्तो मानसिक भाव पैदा नै हुन नपाउने वातावरणको खोजीमा हुन्छन् । वृन्दावनको सन्देश शारीरिक आकर्षण होइन , क्षणिक प्रणयसुख होइन । यसको सन्देश अनन्त आत्मिक आनन्द हो । यसको सन्देश हो , जीवनलाई सङ्गीतमय बनाऔँ , रसमय र प्रेममय बनाऔँ । भोलि फेरि कहाँ पुगेर के भोग्नु छ थाहा छैन ।

आज फेला परेको वृन्दावनको सदुपयोग अहिले नै गरौँ । वृन्दावन एक बिम्ब हो रञ्जनजी । यो एक प्रतीक हो , जीवनलाई आनन्दमय बनाउनुपर्छ भन्ने सन्देश हो । हाम्रा श्यामसुन्दरले जीवनमा पाएको छोटो शान्तिमय समयको सदुपयोग गरेर प्रेम र रसिकताको सन्देश दिएका थिए । जान्ने हो भने यो सारा संसार नै वृन्दावन हो । नेपाल त झनै दिव्य वृन्दावन हो । तपाईँ र म महान् देशका नागरिक हौँ । तर मैले नेपाल नदेखेको बिस वर्ष भयो । मेरो भाग्यमा आफ्नै मातृभूमिमा जीवन बिताउन लेखेको रहेनछ । म यहाँ असङ्ख्य दिदीबहिनीका दारुण घाउहरूमा मलम लगाइदिने काम गर्छु । ती आर्तनाद गर्दै आएका निर्दोष जीवनहरू मेरो कुरा सुनेर मुसुक्क हाँस्दा मलाई अपूर्व सन्तुष्टि प्राप्त हुन्छ । तथापि कहिलेकाहीँ मनमा अनेक कुरा खेल्न थाल्दछन् । जीवनमा  मनका कुरा गर्ने साथीको खाँचो महसुस हुँदो रहेछ रञ्जनजी ! 

यस्तो साथी होस् जोसँग मनको वह पोख्न सकियोस् , हृदयलाई खोलेर देखाउन सकियोस् , आन्तरिक वेदना प्रकट गर्न सकियोस् , दुई थोपा आँसु झार्न र खुसी व्यक्त गर्न सकियोस्  I मसँग धन , दौलत , विद्या र यश सबै थोक छ , किन्तु अन्तरङ्ग साथीको अभावमा छु I

 मेरो विवाह भारतमा भयो । विवाह भएको तीन महिना मात्र भएको थियो । मेरा पति हवाई जहाज दुर्घटनामा परेर मरे । त्यो दुर्घटना प्राविधिक कारणले भएको थियो । परन्तु मेरो घरमा मेरो ‘अलच्छिनी पाइलो’ दोषी भयो । हरेक क्रियाकलापको साइत हेर्ने मेरो परिवारको ज्योतिषी मेरो पाइलोलाई दोष दिएर चोखै बाँच्यो र परिवारको श्रद्धेय नै रहिरह्यो । म भने सबैको नजरमा कलङ्किनी ठहरिएँ । विधवा भएपछि म मोटाउन थालेंछु  । कसै कसैलाई शोकमा पनि मासु लाग्छ रे । सासूले भन्न थालिन् यो ‘राँड मोटापा’ लागेको हो । मेरो शरीरको त्यो मासु कसैका लागि खिसी र उपहास बन्यो भने कतिपय कामुकहरूले कुकुरले झैँ र्‍याल चुहाउन थाले । घरमा नन्दहरूले व्यङ्ग्य गर्न थाले , ‘मनहुसहरु आफू मात्र कहाँ अभागी हुन्छन् ? यिनीहरू त सारा परिवारलाई घिसारेर अभाग्यको गर्तमा जाक्दछन् ।’ 

मेरो कुनै दोष थिएन , तथापि सारा कुटुम्ब मेरो खिलाफमा थियो । म घर छाडेर माइत गएँ । तर माइतीमा मेरो कुनै स्वागत भएन । मलाई आशा थियो , कतै पढ्न पठाउलान् कि ,  कतै सम्झाइबुझाई अर्को विवाह गरिदेलान् कि । म माइतीमै भएको बखतमा मेरी बहिनीको विवाहको कुरा गर्न केटा पक्षका मानिस आए । म लुकेर बसेँ ।  हुनेवाला दुलहीकी दिदी आलो विधवा छ रे भन्ने सुन्ने बित्तिकै केटाकी आमा बाप्रे बाफ भन्दै छोरो लतार्दै भागी । एक महिनापछि आमाले भन्नुभयो , ‘विधवा छोरी भएको घरमा कोही पनि व्यवहार गर्न आउँदैन । तिमी जे जसरी भए पनि पतिको घरमै बस्नुपर्छ ।’ अहो ! ती मेरी प्यारी आमाका शब्दहरू थिए । को छ यो संसारमा आफ्नो ?

हेर्नुस् त रञ्जनजी ! न मेरो प्रतिभा काम लाग्यो , न रूप न यौवन र न उच्चतर शिक्षा हासिल गरेर स्वदेशमै सेवा गर्ने इच्छा नै । म ससुरा र जेठाजुहरूले जे दिएको रकम लिई जन्मघर र कर्म घरमा थुक्न पनि फर्केर नजाने गरी हाम फालेर यहाँ आएँ । यहाँ सात वर्षसम्म निरन्तर परिश्रम गरेर अध्ययन गरेपछि शनै शनै आजको हैसियत हासिल गरेकी हुँ । आज यहाँ बिस वर्ष बित्यो र मेरो जीवनयात्राका चालीस वर्ष सकिए । भन्नुहोस् त रञ्जनजी ! मेरो दुर्भाग्यको सीमा कहाँ गएर टुङ्गिन्छ ? मलाई दुःख लाग्छ । पूर्वजन्मको फल भनेर पहिले नारीलाई  सती सावित्री भन्दै पोल्ने र पछि गएर अपहेलित र उपहसित जीवन बिताउन बाध्य पार्ने काम गरियो । हाम्रो संस्कृति र परम्पराले छुवाछूत जस्तो कलङ्कलाई प्रोत्साहित गर्दा धार्मिक गुरुहरूले त्यसलाई हटाउनेतर्फ प्रोत्साहन दिनेभन्दा संरक्षणमा जोड दिए । एक मनुष्यले अर्को मनुष्यलाई प्रतिष्ठाहीन , मार्गहीन र गन्तव्यहीन बन्न बाध्य पारेको देख्दा आश्चर्य लाग्छ । म आफ्नो ठाउँबाट यस्ता प्रवृत्तिको उन्मूलन गर्नुपर्छ भनेर जोड दिन्छु , तर निकै गाह्रो छ ।

रति रञ्जनको फर्कने बेला भयो । उनीहरूबिच अब आप्तकामिनी नेपाल आउने र यतै बस्ने सल्लाह भयो । अबदेखि रञ्जनले साधु भेष धारण गर्नेछन् । अनि उनीहरू सँगै विभिन्न धामहरूको भ्रमण गर्नेछन् । फेरि दुबैतर्फ अनुरागका पुष्पहरू अङ्कुरित भए । फेरि नवपालुवाहरू पल्लवित हुन जुरमुराए । फेरि सपनाको उपवनमा मदोन्मत्त भमराहरू झुम्मिन थाले । दुई आत्माहरूमा अनुरागमय सङ्गीत तरङ्गित भयो । हृदयस्थित कोइलीहरूले कोहो कोहो ! गीत गाउन थाले । प्रेमको भाषा हुँदैन , देश हुँदैन ,  संस्कृति र उमेर पनि हुँदैन । प्रेम शारीरिक लिप्सा मात्र होइन । यो एक अनुराग  हो , आत्मीय झङ्कार । तथापि त्यसका सीमा थिए । सभ्यताले कोरेका लक्ष्मण रेखा र समाजले निर्धारण गरेका मर्यादा थिए ।

 बिदा हुने बखतमा साध्वीलाई अत्यन्तै गाह्रो भइरहेको थियो । तर उनी साधारण नारी नभई आप्तकामिनी थिइन् । काम , क्रोध , लोभ , मोह , मद , मात्सर्य र अनुरागबाट सर्वथा मुक्त मनस्विनी मानिन्थिन् उनी । उनी चञ्चल हुनु भनेको समग्र साधु , सन्त र साध्वी समुदायको प्रतिष्ठामा धब्बा लाग्नु हुन्थ्यो । रञ्जन बिदा हुने दिन आप्तकामिनीको साप्ताहिक अवकाश थियो । त्यहाँ उनका निजी सहयोगीहरूबाहेक कोही थिएन । परन्तु मर्यादा त भित्तो , झ्याल ढोका , बाटो र वनस्पतिको सामुन्ने पनि राख्नै पर्छ । रञ्जनले पाइला सार्ने बेलामा  साध्वीले ‘मा धव मा धव !’  ( नजाऊ नजाऊ ) भनेर पुकारिन् । रञ्जन लगायत सबैले भगवान् माधवको नाम लिएर शुभ यात्राको कामना गरेको बुझे ।

आज दस वर्ष पूरा भयो । आज पनि आप्तकामिनी रति रञ्जनको बाटो हेरेर बसिरहेकी छिन् । उनी अझै पनि रञ्जनसँग भेट भएर नेपाल फर्कन उत्सुक छिन् । अझै पनि चितवन या वराहक्षेत्रमा वृहत् आध्यात्मिक प्रतिष्ठान स्थापना गर्ने योजना कायमै छ । किन्तु विडम्बना ! उनैलाई लिन जान भनी काठमाडौँबाट हिँडेका रातिञ्जन कर्माचार्य कार दुर्घटनामा परी त्रिशूली नदीमा बेपत्ता भएको खबर सायद कहिल्यै पाउने छैनन् आप्तकामिनी  । सायद उनी भविष्यमा पनि निरन्तर रति रञ्जनको आगमनको प्रतीक्षा गरिरहने छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस