मन्त्रिपरिषद् हेरफेरको सम्भावना छ : अध्यक्ष दाहाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् हेरफेरको सम्भावना छ : अध्यक्ष दाहाल


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सत्तारुढ गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमा नै मन्त्रिपरिषदमा हेरफेर हुने तयारी भइरहेको बताएका छन् ।

उनले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरषदमा हेरफेर र पूर्णता दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको जानकारी दिएका हुन् ।

मधेस प्रदेशमा आज (मंगलबार) आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका दाहालले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ । औपचारिक रूपमा कुरा टुङ्गिएको छैन । केही हेरफेर हुने कुरा भएको छ । नयाँ मन्त्री आउने सम्भावना छ ।’

मन्त्रिपरिषदमा हेरफेर हुँदा पार्टीलाई हैसियतअनुसारको हिस्सा दिनका लागि प्रधानमन्त्रीलाई भनेको पनि दाहालले बताए । उनले पार्टीले गठबन्धन बचाउनका लागि माओवादीले त्याग गरेको पनि बताए ।

‘हामीले जति मन्त्रालय पाउनुपर्ने मन्त्रालय हो त्यो पाउनुपर्छ भनेर प्रधानमन्त्रीजीलाई भनेको छु’ उनले भने, ‘विगतमा प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभयो । माधव नेपालले मैले भर्खर पार्टी बनाएकाले सहयोग गर्नुपर्ने भनेकाले हिजो त्यस्तो भएको हो ।’

दाहालले गठबन्धनका लागि त्याग गर्ने काम माओवादीले मात्रै गरेको पनि बताए । ‘मन्त्रिपरिषदमा हेरफेर हुने स्थिति आयो भने हैसियतअनुसार मन्त्रालय चाहिन्छ भनेका छौँ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस