बुढानीलकण्ठ सवारी दुर्घटनाका आरोपित दोषी ठहर, ६ महिना कैद एक हजार रुपैयाँ जरिवाना « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बुढानीलकण्ठ सवारी दुर्घटनाका आरोपित दोषी ठहर, ६ महिना कैद एक हजार रुपैयाँ जरिवाना


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । दुई वर्षअघि काठमाडौँको बुढानीलकण्ठमा भएको सवारी दुर्घटनाका आरोपित दोषी ठहर भएका छन् ।

सोमबार काठमाडौँ जिल्ला अदालतले आंशिक दाबी पुग्ने ठहर गर्दै दोषी ठहर गरेको हो । आइतबार न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासमा परेको उक्त मुद्दाको बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा परेको थियो । सोमबार बहस सकिएपछि काठमाडौँ जिल्ला अदालतले आंशिक दाबी पुग्ने ठहर गरेको हो ।

चालकले लापरबाहीपूर्वक सवारीसाधन चलाएको पुष्टि भएको कारण उनलाई ६ महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला गरिएको छ ।

बुढानीलकण्ठमा भएको सवारी दुर्घटनामा चालकले अत्याधिक मदिरा सेवन गरी सवारीसाधन चलाएको र उक्त सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जिल्ला सरकारी वकिल कार्यालयले चालकलाई १० वर्षसम्म कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतले आरोपीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उच्च अदालत पुगेका चालकलाई उच्च अदालतले पनि थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालतको आदेश सदर गरेको थियो । तर सर्वोच्च अदालतले भने आरोपीसँग धरौटी लिई तारेखमा छाड्ने आदेश दिएको थियो ।

आरोपी चालक पृथ्वी मल्ल यसअघि नै करिब ७ महिना थुनामा बसिसकेको कारण अब उनले जरिवानास्वरुप एक हजार रुपैयाँ तिरे कैद र जरिवाना पूरा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस