अबको शिक्षा दुई धारमा हुनुपर्छ : राज्यमन्त्री श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अबको शिक्षा दुई धारमा हुनुपर्छ : राज्यमन्त्री श्रेष्ठ


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । राज्यमन्त्री उमेश श्रेष्ठले अबको शिक्षा दुई धारमा हुनुपर्ने बताएका छन् ।

सोमबार (आज) कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिट–२०२२ मा बोल्दै श्रेष्ठले उक्त अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘अब शिक्षा दुई धारमा सञ्चालन गरिनु पर्छ । पब्लिक धार र प्राविधिक धार बनाएर जान जरुरी छ । साधारण शिक्षा पढ्ने र प्राविधिक धार पढ्ने मात्र बनायौँ भने सहज हुनेछ ।’ निजी र सामुदायिक भनेर दुई खाले शिक्षा सञ्चालन रहेको तर प्राविधिक शिक्षालाई प्राथमिकतामा पर्न नसकेको उनले बताए ।

आफू एक दशकदेखि नीति निर्माण तहमा रहेको तर चाहेजस्तो शिक्षाको विषयलाई सुधार गर्न नपाएको उल्लेख गरे । उनले भने, ‘अहिले शिक्षामा संघीय कानुन बनेको छैन । विद्यालय शिक्षादेखि देशका एउटै विश्वविद्यालयले १६ सय सम्बन्धन दिँदै आएको अवस्था छ । यो हुनु भएन । अब केन्द्रीय, स्टेट, स्थानीय युनिभर्सिटी हुनुपर्छ । पब्लिक र प्राइभेट खुला हुन सकेको छैन ।’

निजी शिक्षालयको योगदानलाई कम आकलन नगर्न सङ्केत गर्दै राज्यमन्त्री श्रेष्ठले भने, ‘अब सरकारले लगानी बढाउनु पर्छ र प्राइभेटमा पढ्नेलाई छात्रवृत्ति दिन सक्नुपर्छ । त्यसो भएमा दरार भयो भन्ने घट्छ । पब्लिक प्राइभेट पार्टनरसिप हुनुपर्छ ।’

विदेश जाने विद्यार्थी ताँती रोक्ने काम निजी क्षेत्रका शिक्षालयले गरेको उनले दाबी गरे । नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हब बनाउन सकिने उल्लेख गर्दै भने, ‘तर पनि सात महिनामा ३७ अर्ब रुपैयाँ बिदेसिएको छ । विद्यालय तहमा पाँच पाँच वर्षमा हेडमास्टर परिवर्तन गर्नुपर्छ । जुन ठाउँमा आवश्यकता छ, भौतिक पूर्वाधार निर्माण गरेर विद्यार्थी टिकाउन जरुरी छ । अहिले विद्यालय र शिक्षक मर्ज गर्नु पर्ने देखिन्छ ।’

सरकारले अङ्ग्रेजी, गणित र विज्ञानका विषय शिक्षकलाई तालिम दिइनु पर्ने र प्रविधिमैत्री तुल्याउन आवश्यक रहेको उनको जोड छ । उनले भने, ‘सरकार शिक्षाको समग्र सुधारप्रति गम्भीर छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस