जनताले सुम्पिएको धेरै जिम्मेवारी पूरा गरेको छु : मेयर शाक्य « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

जनताले सुम्पिएको धेरै जिम्मेवारी पूरा गरेको छु : मेयर शाक्य


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन् ।

मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको पनि बताए । शनिवार काठमाडौँ महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरवासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरूले सुम्पिएको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताए ।

त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाइ थियो । मेयर शाक्यले सबै वडा कार्यालयहरूलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको पनि जिकिर गरे ।

मेयर शाक्यले भने ‘सबै पूरा गर्न नसके पनि धेरै जिम्मेवारी पूरा गरेको छु । मैले टिमलाई व्यवस्थित ढङ्गले परिचालित गरेको छु । सबैलाई उचित जिम्मेवारी दिएर काम गर्ने वातावरण बनाइदिएका छौँ । सबै वडा कार्यालयहरूलाई प्रशस्त बजेट पनि दिने, जिम्मेवारी पनि दिएर काम गराएका छौँ। र अभिभावकीय भूमिका खेल्नुपर्छ भनेर सोही अनुसार काम गरिरहेका छौँ ।’

यद्यपि सबै काम सम्पन्न नै भइसक्यो भनेर आफूले नभन्ने मेयर शाक्यको स्वीकारोक्ति थियो । उनले विकास, निर्माणको काम निरन्तरको काम भएको भन्दै त्यसमा आफूले सकेको योगदान दिएको बताएका थिए । उनले मुद्दा(मामिलाका कारण पनि महानगरपालिका अन्तर्गत सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टीकरण दिए ।

उपमेयर हरिप्रभा खड्गीले भने सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरूको कामलाई अघि बढाइएको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस