नेपालमा क्रिप्टो, हाइपर फन्डजस्ता कारोबारका एप र वेबसाइट बन्द गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमा क्रिप्टो, हाइपर फन्डजस्ता कारोबारका एप र वेबसाइट बन्द गरिने


१ चैत्र २०७८, मंगलबार


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फन्डलगायत कारोबारी एप र वेबसाइट बन्द गर्ने प्रक्रिया थालेको छ ।

नेपाली पैसा अवैधरूपमा विदेशिएसँगै र डिजिटल नेटवर्किङमा ठगिने बढेपछि सरकारले नियन्त्रणको लागि काम सुरु गरेको हो ।

सञ्चार मन्त्रालयको निर्णय अनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेर अवैध आर्थिक कारोबार हुने एपहरू बन्द गर्न निर्देशन दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका उप निर्देशक सूर्यप्रसाद लामिछानेले नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फन्डलगायत सबै अवैध आर्थिक कारोबार गर्ने एप बन्द गर्ने निर्देशन दिएको बताए ।

उनले भने, ‘सरकारले अध्ययन र अनुसन्धान गरेर नै अवैध कारोबार हुने एप बन्द गर्ने निर्देशन दिएका हो । एपबाट नै नेपालमा अवैध कारोबार भएको पाइएकाले बन्द गराउन निर्देशन दिइएको हो ।’

क्रिप्टोकरेन्सी, बिटक्वाइन र अनलाइन जुवाजन्य कारोबारले आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको थियो ।

विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताबारे गरिएको अध्ययनअनुसार नेपालमा त्यो संख्या ४ लाख २३ हजार ८ सय ४० जना छ ।

नेपालमा पटक पटक अवैध मानिएको क्रिप्टो कारोबारीहरु भेटिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस