रुस र युक्रेनबिच चौथो चरणको वार्ता हुँदै  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रुस र युक्रेनबिच चौथो चरणको वार्ता हुँदै 


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । रुस र युक्रेनबिच आज चौथो चरणको शान्ति वार्ता हुने भएको छ । सो वार्ता भर्चुअल माध्यमबाट हुने युक्रेनी राष्ट्रपतिका सहयोगीले ट्विटरमा जानकारी दिएका छन् । ‘फेरि । भिडियो कन्फरेन्सको ढाँचामा वार्ताहरू निरन्तर हुनेछन्’, राष्ट्रपतिका सहयोगी माईखाइलो पोदोल्याकले लेखेका छन् ।

यसअघि युक्रेनमा जारी सङ्कट अन्त्यका लागि रुस र युक्रेनी पक्षबिच भएका वार्तामा मानवीय सहयोगमा विषयलाई मात्र जोड दिइएको थियो । नागरिकहरूलाई लडाइँबाट बचाउन केही कोरिडोरहरू खोल्ने पहल गर्न वार्ता उपलब्धिमूलक ठहरिएका थिए ।

युक्रेनले बारम्बार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको वार्तालाई जोड दिँदै आएको छ । यसअघि तेस्रो चरणको वार्ता टर्कीको एउटा सहरमा विदेश मन्त्री तहमा भएको थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि नो फ्लाई जोन घोषणा गर्न उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोसँग आग्रह गरेका छन् ।

पोल्याण्डको सीमानजिकै रहेको युक्रेनी सैन्य आधारमा हवाई हमलापछि रुसी सेनाले नेटोका सदस्य राष्ट्रहरूलाई चाँडै आक्रमण गर्न सक्ने जेलेन्स्कीले चेतावनी दिएका छन् ।

यसैबिच, अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले युक्रेनमा भएको आक्रमणको लागि रुसलाई जबाफदेही बनाउने आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस