सदन चलाउन सहयोग गर्नुस् : सभामुख « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सदन चलाउन सहयोग गर्नुस् : सभामुख


२९ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन र राष्ट्रका समस्या समाधानमा केन्द्रित हुन सबै सांसदलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समेत प्रमुख विपक्षी नेकपा (एमाले)का सांसदहरूले नाराबाजीसहित विरोध गरेपछि सभामुखले विशेष रुलिङ गर्दै सो आग्रह गरेका हुन् ।

लगातार छ महिनादेखि एमालेले संसद्को कारबाहीमा सहभागी नभई नाराबाजी गरिरहेको छ। अवरोधका बिचमा अमेरिकी सहयोग सम्झौतालगायतका केही कार्यसूची अगाडि बढे पनि अरू महत्त्वपूर्ण कानुन भने पारित हुन सकेको छैन ।

प्रतिनिधिसभामा विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित गर्नुपर्नेछ । यस्तै नागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यसमेत अवरोधका कारण प्रभावित हुन पुगेको सभामुखको भनाइ छ ।

सभामुखले भने, ‘विचाराधीन विधेयकलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हामी सबैको दायित्व हो ।’ संसद् अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएका तथा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकामा सांसदहरूले आफूलाई पटक पटक ध्यानाकर्षण गराएको सभामुखले स्मरण गरे ।

संसद्लाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको तथ्य पेस गर्दै सभामुखले अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सबै सांसदलाई सभामुखले विशेष अनुरोध गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस