हेलिकप्टर प्रयोग गरी डढेलो चार दिनपछि नियन्त्रणमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हेलिकप्टर प्रयोग गरी डढेलो चार दिनपछि नियन्त्रणमा


२५ फाल्गुन २०७८, बुधबार


सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार दिउँसोबाट लागेको डढेलो चार दिनपछि नियन्त्रणमा आएको वडा नं २ का वडाध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए ।

हेलिकप्टर, स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा चार दिनपछि उक्त डढेलो नियन्त्रणमा लिन सफल भएको गाउँपालिकाले जनाएको छ । स्थानीयवासीले आगो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि अग्नि नियन्त्रक सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको वडा अध्यक्ष शेर्पाले बताए ।

गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकप्टरले आगो नियन्त्रणका लागि ९५ हजार लिटर पानी प्रयोग गरेको थियो । आगो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमबार बिहान करिब एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेको थियो । आगोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भए पनि के कति क्षति भयो भन्ने यकिन गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

आगलागीका कारणबारे अनुसन्धानसँगै क्षतिको यकिन विवरण तयार गर्ने काम भइरहेको वडाध्यक्ष आङफुर्वा शेर्पाले बताए । आगोका कारण नाक्चुङ गाउँका १३ घर उच्च जोखिममा परेका थिए । बस्ती जोगाउनका लागि सबै संयन्त्र प्रयोग गरी काम गरेको गाउँपालिका कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस