दरौंदी नदीमा बेपत्ता भएका विकास भट्ट मृत भेटिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दरौंदी नदीमा बेपत्ता भएका विकास भट्ट मृत भेटिए


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । गोरखा नगरपालिका–१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

भीमसेन थापा गाउँपालिका–१ का २२ वर्षीय विकास भट्टको शव बुधवार बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ ।

डोजरको सह–अपरेटरको रूपमा काम गर्दै आएका उनी मङ्गलवार साँझदेखि बेपत्ता थिए । नदी किनारमा मृतकको लुगा, चप्पल, मोबाइल र पैसासमेत भेटिएको प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।

पौडी खेल्नका लागि कपडा र पैसा किनारमा राखेर नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

स्थानीय कुलप्रसाद भट्टका अनुसार मृतक विकास केही दिनअघि मात्र डोजरमा हेल्परको रूपमा काम गर्न आएका थिए । ‘हिजो अपरेटरले डोजर चलाइरहेका बेला उनीचाहिं मोबाइल चलाउँदै नदी किनारमा हिँडिरहेका रहेछन्’ उनले भने, ‘राति एक्कासि मान्छे बेपत्ता भयो भनेर खबर आयो अनि हामी पुगेर खोज्दा पनि भेटाउन सकिएन ।’

स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा पनि शव नभेटिएपछि कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट गोताखोरको टोली मगाइएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस