अमेरिकाले लगायो रुसी तेलमा प्रतिबन्ध, नेपाललाई कस्तो असर पर्ला ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अमेरिकाले लगायो रुसी तेलमा प्रतिबन्ध, नेपाललाई कस्तो असर पर्ला ?


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । अमेरिकाले रुसबाट आयात हुने कच्चा तेल, प्राकृतिक ग्यास, कोइला लगायत सबै किसिमका इन्धनमा प्रतिबन्ध लगाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार मङ्गलवार राति सवा १० बजे यस्तो घोषणा गरेका हुन्।

युक्रेनमाथि सैन्य हमला गरेको रुससँग सबै किसिमका साझेदारी अन्त्य गरेर दबाब सिर्जना गर्ने रणनीतिअनुरूप अमेरिकाले पेट्रोलियम आयातमा प्रतिबन्ध लगाएको हो।

अमेरिकाले सन् २०२१ मा महिनाको २ करोड ब्यारेलभन्दा बढी कच्चा तेल र प्रशोधित पेट्रोलियम पदार्थ रुसबाट आयात गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यो कुल अमेरिकी मागको ३ प्रतिशत हो।

रुसको हमलापछि कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य लगातार बढ्दै गएको छ। यसअघि अमेरिकी प्रतिबन्धको हल्ला चल्ने बित्तिकै सोमबार केही समय कच्चा तेलको मूल्यले १ सय ३९ डलर प्रतिब्यारेल छोएको थियो। यो मूल्य लामो समय भने रहेन। अब प्रतिबन्ध घोषणा भइसकेपछि कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य थप वृद्धि हुनेछ र त्यसको सिधा असर नेपाल लगायत संसारका सबै मुलुकमाथि पर्नेछ।

नेपाल आयल निगमलाई अहिले नै मासिक ५ अर्ब रुपैयाँभन्दा बढी घाटा छ। अमेरिकी प्रतिबन्धपछि अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य वृद्धिले नेपाललाई आगामी दिनमा पेट्रोलियम आपूर्ति सहज गर्न आर्थिक रूपले कठिन हुँदै जाने छ।

यसबिच संयुक्त अधिराज्यले सन् २०२२ को अन्त्यसम्म रुसी कच्चा तेल लगायत अन्य पेट्रोलियम आयात चरणबद्ध रूपले घटाउँदै लैजाने निर्णय गरेको बिबिसीले जनाएको छ। संयुक्त अधिराज्यले आफ्नो कुल पेट्रोलियम मागको ८ प्रतिशत रुसबाट आयात गर्छ।

अमेरिका र संयुक्त अधिराज्यको यस्तो निर्णयपछि अन्य युरोपेली मुलुकलाई पनि रुससँग तेल कारोबार बन्द गर्न दबाब पर्नेछ। युरोपेली युनियनले यस वर्ष अन्त्यसम्ममा रुसबाट हुने पेट्रोलियम र ग्यास आपूर्ति दुई तिहाइ कटौती गर्नेतर्फ पाइला चाल्ने बताएको छ। यो निर्णय कार्यान्वयन भए अन्तर्राष्ट्रिय बजार थप प्रभावित हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस