रामकोट घटना : ११ वर्षकी सुप्रियासिहत विष पिउनुअघि उनीहरूले लेखेको ‘सुसाइड नोट’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रामकोट घटना : ११ वर्षकी सुप्रियासिहत विष पिउनुअघि उनीहरूले लेखेको ‘सुसाइड नोट’


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोट स्थित डाँडापौवामा सोमबार राति विष पिएका ४ जनाको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदै छ । ३३ वर्षका सुवर्णमान प्रधानको मृत्यु भयो ।

मनमोहन अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको मध्ये ३८ वर्षका भीम प्रधान र ३५ वर्षीया मन्दिरा प्रधान पति–पत्नी हुन् । ६२ वर्षीया इन्दिरामाया प्रधान चाहिँ भीमकी आमा हुन् । भीम र मन्दिराकी छोरी हुन् ११ वर्षकी सप्रिया प्रधान । बालाजु स्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा ६ कक्षामा अध्ययनरत सप्रिया पढाइमा अब्बल थिइन् । सबै विषयमा ‘ए प्लस’ रिजल्ट आएको थियो । तर, जन्म दिएका बुवा–आमाले विष पिलाएपछि ती अबोध बालिका अहिले मनमोहन अस्पतालको भेन्टिलेटरमा जीवनको लडाइँ लड्दै छिन् ।

सोमबार राति नै ज्यान गुमाएका सुवर्णमान चाहिँ भीमका भतिजा हुन् । उनी भीमकै परिवारसँग बस्थे । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीका अनुसार भेन्टिलेटरमा उपचार गराइरहेको चार जना बोल्न सक्ने अवस्थामा छैनन् । भीम र मन्दिरा दम्पतीको योजनामा आफूसँगै छोरी, भतिज र ६२ वर्षीया आमालाई विष पिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

मनमोहन अस्पतालमा उपचार बापतको बिल २ लाखबाट उकालो लागेको छ । तर, आफन्तहरू सम्पर्कमा नआउँदा उपचारमा समस्या भएको प्रहरीको भनाई छ ।

पाँच दिनअघि ‘सुसाइड नोट’ तयार 

भीम र मन्दिरा डल्लुका पुराना बासिन्दा हुन् । करिब १ वर्षअघि त्यहाँको आफ्नो सम्पत्तिको हिस्सा लिएर उनीहरू रामकोटमा गएर बस्न थालेका थिए । फागुन २३ मा राति विष पिएर अचेत अवस्थामा भेटिएको घरमा उनीहरू २०७८ कार्तिक देखि बस्न थालेका हुन् । डा। उद्धव पुरिको घरको पहिलो तला उनीहरूले भाडामा लिएका थिए ।

विष पिउनुअघि उनीहरूले लेखेको सुसाइड नोट प्रहरीले बरामद गरेको छ । मन्दिराले फागुन १८ मा नै सुसाइड नोट तयार गरेर हस्ताक्षर गरेकी थिइन् । भीमले फागुन २० मा हस्ताक्षर गरेको सुसाइड नोट प्रहरीले बरामद गरेको छ । ६२ वर्षीया इन्दिरामायाको नाममा लेखिएको नोटमा चाहिँ औँठा छाप लगाइएको छ ।

मन्दिराले अफ्नो नोटमा लेखेकी छिन्–‘अफिसबाट पनि धेरै हैरानी भयो । घरमा सासू र श्रीमानलाई रोगले छाडेन । जत्ति प्रयास गरे पनि असफलता मात्रै हात लाग्यो ।’

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार भीम प्रधानले आफ्नो नोटमा लेखेका छन्–‘हाम्रो शव दाइहरूलाई दिनु र सामान पनि उहाँहरूलाई नै दिनु ।’

मन्दिराले आफ्नो नोटको शुरुमै लेखेकी छिन्–‘यो नोट नच्यात्नु होला, मैले सम्बन्धितलाई पठाइसकेको छु ।’

महानगरीय प्रहरी वृत्त स्वयम्भुले मन्दिराको मोबाइल र घटनास्थलमा बरामद नोट फरेन्सिक जाँचका लागी पठाउने भएको छ । नोट र मोबाइल परीक्षणका लागी प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइने महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए ।

घटनास्थलमा सेल्फल नामक किटनाशक औषधीको ३ थान खाली प्याकेट, राटील नामको किटनाशक औषधीको २ वटा खाली बट्टा, चाकोर नामक किटनाशक औषधीको नखोलेको एउटा बट्टा र सफारे नामको किटनाशक औषधीको नखोलेको दुईवटा बट्टा भेटिएको छ । प्लास्टिक, वाइन र ह्विस्कीको बोतलमा घोलेर राखेको विष प्रहरीले बरामद गरेको छ । विषमा सिटामोल पनि धुलो बनाएर जुसजस्तो घोल बनाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए ।

विष पिउनुको कारण  

इन्दिरामाया प्रधान क्यान्सरको रोगी थिइन् । भीम प्रधान मानसिक रोगको औषधी खान्थे । उनले पाटन अस्पतालमा उपचार गराएको र औषधी खाने गरेको कागजात भेटिएको छ । पहिले ट्याक्सी चलाउने भीम पछिल्लो समय बेरोजगार थिए ।

घरमा कमाउने मन्दिरा प्रधान मात्र थिइन् । उनी न्युरोडमा ब्रिटिस गोरखाली सेभिङ एण्ड क्रेडिटमा कलेक्टरको काम गर्थिन् । मन्दिराले कलेक्सन गरेको पैसा हिनामिना गरेको आरोपमा सहकारीले उनलाई प्रहरी कार्यालयमा उभ्याएको थियो । फागुन २० मा शुक्रवार महानगरीय प्रहरी वृत्त जनसेवाले मन्दिरालाई बोलाएर फाइनान्सको पैसा हिनामिना गरेको बारेमा ७ घण्टा सोधपुछ गरेको थियो । उनले सो कुरा सुसाइड नोटमा पनि लेखेकी छिन् ।

प्रहरीले घटनाको कारण आर्थिक समस्या हुनसक्ने आकलन गरेको छ । तर, यकिन कारण खुल्न बाँकी रहेको एसपी मैनालीले बताए ।

भीम र मन्दिराको योजनामा उनीहरूले चेन गेटमा ताला लगाएर विष पिएका थिए । दिनभर कुकुर कराएपछि नजिकैको किराना पसल सञ्चालकले भीमको दाइलाई खबर गरेका थिए । दाइ पुगेर झ्यालबाट हेर्दा उनीहरू ढलेको देखेर प्रहरी कन्ट्रोलमा खबर गरे ।

चेन गेटको ताला फुटाएर अचेत अवस्थामा रहेकाहरूलाई अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले बताए । एउटा कोठामा इन्दिरामाया, भीम र ११ वर्षीया छोरी सप्रिया अचेत अवस्थामा थिए । एउटा कोठामा भीमकी पत्नी मन्दिरा र अर्को कोठामा भतिज सुवर्णमान अचेत अवस्थामा पल्टिरहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस