आफैँले गाडी भाडा बढाउने व्यवसायीको चेतावनी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आफैँले गाडी भाडा बढाउने व्यवसायीको चेतावनी


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफैँ सार्वजनिक सवारीको भाडा दर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल – पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् ।

सरकारले बेवास्ता गरेर आफैँले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चेतावनी दिएको छ । सरकारले बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५–५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजल प्रतिलिटर १३३ रुपैयाँ पुगेको हो ।

पेट्रोलियमको मूल्यवृद्धि र गाडी भाडा वृद्धिको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरूलाई पर्ने अवस्था आएको छ ।

२७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाए यता डिजल(पेट्रोलको मूल्य प्रतिलिटर २५ रुपैयाँले बढिसकेको छ । २७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्री स्तरीय निर्णय गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस