आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्ह पाउनुपर्ने राप्रपाको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्ह पाउनुपर्ने राप्रपाको माग


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनमा आफ्नै निर्वाचन चिन्ह पाउनुपर्ने माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले आफ्नै निर्वाचन चिन्ह पाउनुपर्ने भन्दै त्यसका लागि दबाब सिर्जना गर्न जनसंघर्ष गर्ने निर्णय गरेको हो ।

राप्रपाले निर्वाचन आयोगले ६ वटा दलहरूलाई मात्रै आफ्नै चुनाव चिन्ह दिने र अरूलाई नदिने कुरा सर्वसत्तावादी, विभेदकारी र अलोकतान्त्रिक भएको आरोप लगाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्तिमार्फत् भनेका छन्, ‘निर्वाचन आयोगले दल दर्ता गर्ने, दललाई निर्वाचन चिन्ह प्रदान गर्ने, आयोग आफैंले प्रदान गरेको चिन्ह प्रयोग गरेर पटक–पटकका निर्वाचनमा सहभागी भइसकेको दललाई स्थानीय तहको निर्वाचनमा दलको निर्वाचन चिन्ह प्रयोग गर्नबाट वञ्चित गर्ने र ६ वटा दललाई मात्रै निर्वाचन चिन्ह दिने व्यवस्था सर्वसत्तावादी, विभेदकारी र अलोकतान्त्रिक छ ।’

राप्रपाले त्यसका लागि आयोगलाई ध्यानाकर्षण गराउने र जनसंघर्ष गर्ने निर्णय गरेको छ । बैठकले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, भ्रष्टाचार विरुद्ध र जनजीविकाको सवालमा जनसंघर्ष गर्न महामन्त्री धवलशम्शेर राणाको संयोजकत्वमा आन्दोलन तयारी समिति गठन गरेको छ ।

त्यस्तै, स्थानीय तहको निर्वाचनमा पार्टीले अत्यधिक सफलता हासिल गर्न स्थानीय तह निर्वाचन विशेष कार्ययोजनासमेत पारित गरेको छ । जसमा पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उमेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कोणसभा कार्यक्रम सञ्चालन गर्ने तथा पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा निर्वाचनकेन्द्रित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस