राँझा । बाँकेको खजुरामा आज बिहान फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
खजुरा गाउँपालिका–३ स्थित खजुरा बजारको मुख्य चोकमा प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको अवस्थामा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार बजारको मुख्य चोकमा शङ्कास्पद वस्तु रहेको खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरी निष्क्रिय बनाउनका लागि नेपाली सेनाको भैरवप्रसाद गणमा खबर गरिएको थियो ।
नेपालगञ्ज गुलरिया सडकखण्ड अन्तर्गत खजुराको बीच बजारमा बम फेला परेपछि केही समय सडक अवरुद्ध भएको थियो । सेनाले बम निष्क्रिय पारेसँगै यातायात सञ्चालनमा आएको उनले बताए ।