प्रहरीमाथि प्रदर्शनकारीको ढुङ्गा प्रहार, इन्स्पेक्टरसहित १८ प्रहरी घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरीमाथि प्रदर्शनकारीको ढुङ्गा प्रहार, इन्स्पेक्टरसहित १८ प्रहरी घाइते


१७ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । सुर्खेतमा एमसीसीको विरोधमा प्रदर्शनकारीले राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गर्न थालेपछि लगाइएको कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन जारी राखेका छन् । प्रहरीले कर्फ्यु उल्लङ्घन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा इन्स्पेक्टरसहित १८ प्रहरी घाइते भएका छन् ।

घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका हुन् । ढोगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार दुई जना सर्वसाधारणसमेत घाइते भएका छन् । प्रदर्शनका कारण सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु आदेश जारी गरेको हो ।

सोमवार राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी भएको हो । सोमबार बन्धकर्ताले सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका थिए ।

एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरूले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका हुन् ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस