एमसीसी अस्वीकार गरे नेपालमा आर्थिक सङ्कट आउन सक्छ : सुरेन्द्र पाण्डे « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमसीसी अस्वीकार गरे नेपालमा आर्थिक सङ्कट आउन सक्छ : सुरेन्द्र पाण्डे


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालमा आर्थिक सङ्कट आउन सक्ने बताएका छन् ।

आज (शुक्रबार) त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्त्रका नयाँ चुनौती र समाधानका उपायहरूको खोजी’ विषयक अन्तरक्रियामा उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।

एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र सङ्कट पैदा हुनसक्ने पाण्डेको भनाइ थियो ।

अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरुले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिचकिचाउने उपाध्यक्ष उनको तर्क थियो ।

धेरै रेमिट्यान्स भित्रिने मुलुकहरूसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा सङ्कटमा फस्न सकिने दाबी गरे ।

एमसीसीबारे नेता पाण्डेले भने, ‘अहिले प्रसंगवश् आइरहेको एमसीसीसँग कतै अन्तर्राष्ट्रिय सम्बन्धसँग रिलेटिभ भएर नयाँ सङ्कटतर्फ देश जाने होइन ? यसतर्फको अध्ययन अलिकति, तपाईँहरूले यसका प्रभावको बारेमा अध्ययन गर्नु पर्ने खाँचो देखिरहेको छु । यो भनेको के भने जस्तो अहिले मैले हेर्दा विश्व बैङ्क, दक्षिण एसियाली बैङ्कले निश्चित सहयोग दिने गर्दछ । त्यो अहिले विगतमा भन्दा बढाइरहेको छ ।

आइएमएफले पनि केही दिन अगाडि ४० करोड डलर हामीलाई कर्जा दिएको छ । भर्खरै ४८ अर्ब हामीले प्राप्त गरेका छौँ । यसले हामीलाई करेन्सीमा आइपर्ने जो चाप छ, त्यसलाई केही न केही ब्यालेन्स गर्ने मद्दत गरिरहेको छ । तर, यदि यो सम्बन्ध ५५ अर्ब नलिने कुरासँग केही छैन । नलिए पनि केही भएको छैन । तिमिले लिएनौ मैले दिन्नँ मैले अन्यत्र पनि बाँडिदिन्छु भनेर सहज रुपमा उसले लिएर गयो भने प्रश्न भएन । त्यसले ठुलो नोक्सानी कहीँ हुँदैन । तर यहाँ नेपाल जस्तो मुलुकले मेरो पैसा नलिने भनेर दागा धरो भने बुझ्नुस् हामी जोखिम र सङ्कटतर्फ प्रवेश गर्‍यौँ ।’

उनले अफगानिस्तान, इराक लगायतका देशमा अमेरिका प्रवेश गर्दाको प्रसङ्ग कोट्याउँदै नेपालले पनि अमेरिकी सहयोग अस्वीकार गर्दा उसले असहयोग गर्ने सङ्केत गरेका थिए ।

पाँच वर्षे भिसालाई वेटीङ लिस्टमा राखिदिने । मैले सुन्दै छु, जर्मनीले तिमी अमेरिकाको पैसा लिँदैनौ । किन चाहियो हाम्रोबाट लोन भनेर रोक्न थाल्यो । एमसीसी नलिएको कुरा गर्दा । यसको के प्रभाव हुन्छ । करिब १५ देशबाट हामीले मेजर रुपमा रेमिटेन्स प्राप्त गर्छौँ । यी सबै शक्ति कुनै न कुनै रुपले ग्लोबल पावर एक्सिसमा अमेरिका निकट अवस्थामा छन् । उसले नेपाललाई अलिकति मात्रै पनि नेपालतर्फको डिस्कोर्डेन्स रोकिदियो भने हामी सङ्कटमा फस्छौँ, पाण्डेले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस