काँग्रेस-एमालेको बैठक सकियो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काँग्रेस-एमालेको बैठक सकियो


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल भर्खरै सकिएको छ ।

बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी रहेका थिए ।

एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू बिच एक मत हुन नसकेपछि प्रमुख प्रतिपक्षी दलको साथ खोजेका प्रधानमन्त्रीले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष ओलीसँग प्रस्ताव राखेका थिए । ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार रहेकोसमेत बताएका थिए । आज दिउँसो पनि दुई दलबिच संसद् भवनमा छलफल भएको थियो । दुई अध्यक्ष साँझ पुनः बैठकमा बस्ने सहमति गरी छुटिएका थिए । 

भेटमा देउवाले एमसीसी ओलीकै पालामा संसदमा दर्ता भए पनि अहिले आएर भाग्न खोज्दा देशले ठुलो मूल्य चुकाउनु परिरहेको बताएका थिए । ‘एमसीसी तपाईँकै पालामा संसदमा दर्ता भएको होइन र ?,’ ओलीलाई देउवाको प्रश्न थियो । 
उनले सबै कुराका लागि खुला रहेको र एमसीसीमा एक ठाउँ उभिएर जान पनि आग्रह गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस