मेरो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्छु : ओली « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मेरो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्छु : ओली


११ फाल्गुन २०७८, बुधबार


भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बाएका छन् ।

अध्यक्ष ओलीको आज परेको ७१ औँ जन्मदिनको अवसरमा भक्तपुरको जर्मन होम्स हस्पिटालिटी गठ्ठाघरमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले २०६२ सालदेखि अहिलेसम्म विभिन्न कार्यक्रममा बोलेको र भोगेका विषयलाई सञ्जय खड्का र लोग्सरी कुँवरले सङ्कलन र सम्पादन गरेको पुस्तक ‘समवेत दृष्टि’ को विमोचनका क्रममा उनले सो कुरा बताएका हुन् ।

सो पुस्तक अध्यक्ष ओली, उनका पिता मोहनप्रसाद र श्रीमती राधिकाले विमोचन गरेका हुन् ।

‘म त फाँसी दिन माग गरिएको मान्छे, जनताको माया, सद्भाव र सहयोगले जेलमुक्त भएँ, म बिरामी पर्दा जनताले मठमन्दिर, गुम्बामा पूजा, भाकल गरेर, शुभेच्छा दिएर आफ्नो स्वास्थ्य लाभको कामना गर्नुभएको मलाई थाहा छ, जनताको शुभेच्छा र प्रार्थनाले म निको भएँ, मैले जनताबाट असाधारण माया र सहयोग पाएको छु, जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा छु’, अध्यक्ष ओलीले भने, ‘यो देशका जनता मेरो भगवान् हुन्, जनताभन्दा ठुलो कोही हुँदैन । जनताको माया, स्नेह, आशीर्वाद, जनताको शुभकामना र प्रार्थनाबाट पाएको आशीर्वादबाट पाएको मेरो बाँकी जीवन यही देश र जनताप्रति समर्पित गर्छु ।’

उनले आफ्ना पितातर्फ देखाएर ‘बुबा त अझै तन्नेरीजस्तै हुनुहुन्छ भने म त झन् बूढो हुने कुरै भएन, म ढुक्क छु’ भन्दै उनले आफ्नो जीवन रहेसम्म जनता, राष्ट्र र राष्ट्रियताविरुद्ध कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

एउटा रुसी कथामा योद्धाले जमिन छाड्दा हारेको र जमिनमा टेकेपछि पुन विजयी भएको किस्सा सुनाउँदै अध्यक्ष ओलीले भने, ‘अलिकति मौका मिल्यो भने त सर्वोच्च अदालतमा लगेर पनि चार जना न्यायाधीशले पछार्दा रहेछन् एमालेजस्तो पार्टीलाई, तर सधैँभरि उचालेको उचाल्यै हुँदैनौँ, फेरि जमिनमा टेकिहाल्छौँ र जनतासँग एकाकार भइहाल्छौँ, अनि एक छिन जालझेल, षड्यन्त्र, तिकडम गरेर केही गुट मिलेर एक पटक लडाउँदैमा मोर्चाको हारलाई युद्धको हार भन्न सकिन्न, हामी समग्र युद्ध हारेका होइनौँ, एक मोर्चा हारेका हौँ, फेरि जित्नेछौँ ।’

केही गुटहरू मिलेर एक छिन जालझेलबाट एक पटक लडाउँदैमा जीवन त सकिँदैन नि भन्दै ओलीले एमाले फेरि जनताको साथबाट आउने दाबी गरे ।

त्यस अवसरमा एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यले केपी ओलीसँग विवाह गरेको दिन देखिनै जोखिम मोलेको बताउँदै घरबाट निस्किएको मान्छे फर्कने हो कि हैन भन्ने त्रासमा दिनहरू बिते पनि अहिले देशका लागि गरेको योगदानले सफल भएको अनुभूति गरेको चर्चा गरे । उनले यस पुस्तकले ओलीप्रति फैलाएको भ्रमलाई चिर्न सफल हुने बताए ।

कार्यक्रममा भारतका लागि पूर्वनेपाली राजदूत नीलाम्बर आचार्यले देशमा काँग्रेस र एमाले मिलेर अगाडि बढे मात्रै देशले निकास पाउने बताए । उनले भने,‘अहिले देखिएको राजनीतिक सङ्कटको निकासका लागि नेपाली काँग्रेस र एमाले मिल्नुपर्छ, काँग्रेस र एमाले नजिक आएपछि मात्रै देशले निकास पाउँछ । जहिले जहिले यी दुई पार्टीबिच फाटो आउँछ तब तब देशमा सङ्कट आएको छ, त्यसैले यी दुई पार्टीबिच विचार फरक भए पनि प्रतिस्पर्धासहितको समझदारी र सहयोग हुनुपर्छ ।’

अहिलेको संसदीय प्रणाली नै बिग्रिन खोजेको भन्दै उनले लोकतन्त्र मास्न सभामुखहरू लागेको आरोप लगाए । सरकारले संसद्मा एउटा विषय ल्याएपछि त्यसको विरुद्धमा सडकमा ढुङ्गा मुढा गर्ने प्रवृत्ति गलत भएको उनको भनाइ थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार स्नेह सायमी, गायिका आनी छोइङ डोल्मा, राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका डा जगमान गुरुङले पुस्तकमाथि समीक्षा गर्दै ओलीको सन्देशहरू पुस्तकमार्फत प्रवाह गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस