स्थानीय चुनाव सार्ने षडयन्त्र असफल भयो : महासचिव पोखरेल « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

स्थानीय चुनाव सार्ने षडयन्त्र असफल भयो : महासचिव पोखरेल


११ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताएका छन् । उनले चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु भएकोसमेत बताएका छन्।

एमाले केन्द्रीय कार्यक्रमअन्तर्गत आजदेखि बुटवलमा सुरु भएको दुईदिने प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एमालेको जनलहर देखेर चुनावमा एक्लै जान डराएका चुनावबाट भाग्ने असफल भएकोसमेत बताए ।

उनले एमसिसी परियोजनाका बारेमा सरकारमा सहभागी दलहरुबीच नै दोहोरो भूमिका देखिएको भन्दै पाँच दलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको बताए । उनले सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने जनाउँदै प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा हुन नहुने बताए ।

उनले पाँच दलीय गठबन्धन बनाएर एमाले पार्टी नेतृत्व र पार्टीका विरुद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको जनाउँदै एमालेलाई जनताको साथ रहेकाले त्यस प्रकारको घेराबन्दीलाई सामना गर्ने बताए ।

पोखरेलले चुनावी तयारीमा लाग्न सबै नेतालाई निर्देशनसमेत दिए । प्रशिक्षणमा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मालगायत सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस