मनाङमा आइतबारदेखि पुनःहिमपात, यातायात अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मनाङमा आइतबारदेखि पुनःहिमपात, यातायात अवरुद्ध


९ फाल्गुन २०७८, सोमबार


मनाङ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ ।

आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ । आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन ।

यहाँको सडकको हिउँ हटाउन नपाउँदै हिमपात भएसँगै समस्या भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार मनाङको चामे र यस वरपरको तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको छ ।

‘यहाँ पुनःहिमपात भएपछि सवारीसाधन चल्ने अवस्था छैन । भारी हिमपातले सवारी आवागमन अवरुद्ध भएको छ’, आचार्यले भने, ‘जनजीवन भने सामान्य रहेको छ ।’

मनाङ ङिस्याङ गाउँपालिकाको खाङ्सार, टङ्की र मनाङ च्याखु, भ्राका, मुङ्जे, घ्यारु, ङाबल, हुम्डे, पिसाङ, नार्पाभूमि गाउँपालिकाको नार, फू, क्याङ तथा च्याखु गाउँका साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक, तिमाङ र नासों गाउँपालिकाको तिल्चे, नाचे, ताचे, ओडार गाउँ, घेराङ गाउँ, घेलाञ्चोक गाउँ, थोंचे, धारापनी र तालगाउँमा भारी हिमपात भएको छ ।

पहाडी क्षेत्रमा वर्षा भएकाले जिल्लामा अझै पनि हिमपात हुनसक्ने देखिएको छ । हिमपात एवं चिसोबाट बच्न र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयले सूचना जारी गरी स्थानीयवासीलाई अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस