पाँच वर्षयता बाटो विराएर धेरै गल्ती गरेको छु, माफी चाहन्छु : थापा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पाँच वर्षयता बाटो विराएर धेरै गल्ती गरेको छु, माफी चाहन्छु : थापा


७ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । राप्रपा छाडेर राप्रपा नेपाल घोषणा गरेका कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन् ।

शनिबार राप्रपा नेपालको घोषणा गर्दै उनले पाँच वर्षयता आफूहरुले बाटो विराएको र धेरै गल्ती गरेको बताए ।

पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक पटक सरकारमा जानु गल्ती भएको उनको भनाइ छ ।

उनले भने, ‘पाँच वर्षको अलमलमा हामीले राप्रपा नेपालको नाम गुमायौं, लोकप्रिय चुनाव चिह्न गाई गुमायौं । आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौं ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको बताए ।

उनले भने, ‘पार्टीको नेतृत्वको नाताले मैले ठीक ढंगले अघि बढ्न नसक्दाखेरि, गलत प्रवृत्तिसँग सम्झौता गर्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुग्यौं । यो सम्पूर्ण जिम्मेवारी मेरो हो ।’

गत पुसमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएको दुई महिना नबित्दै थापाले पार्टी छाडेर फेरि अर्को पार्टी गठन गरेका हुन् । थापा नेतृत्वको राप्रपा नेपालको शनिबार नै घोषणा गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस