चोक चोकमा फोहोर थुप्रिएसँगै दुर्गन्धित बन्दै काठमाडौँ, महानगर भन्छ- कुहिने फोहोर आफैँ व्यवस्थापन गर्नू « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

चोक चोकमा फोहोर थुप्रिएसँगै दुर्गन्धित बन्दै काठमाडौँ, महानगर भन्छ- कुहिने फोहोर आफैँ व्यवस्थापन गर्नू


७ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । एक सातादेखि फोहोर उठ्न छाडेपछि काठमाडौँका चोकहरू दुर्गन्धित बन्न थालेका छन् । १ फागुनबाट फोहर उठाउन छोडेका काठमाडौँ महानगरले शनिवार सार्वजनिक सूचना नै जारी गरेर कुहिने फोहोरको आफै व्यवस्थापन गर्न भनेको छ ।

महानगर अन्तर्गत वातावरण विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकावासीले आआफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्ट्याई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ ।’ नकुहिने फोहोर पनि सडकमा जथाभाबी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन भनिएको छ ।

उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदै आएकोमा मडखु–तीनपिप्ले सडक खण्ड कालोपत्रे हुनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि १ फागुनदेखि फोहोर ढुवानीमा अवरोध भएको महानगरको भनाइ छ ।

उपत्यकाको काठमाडौँ र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । निजी र महानगरपालिका गरी दैनिक दुई सयभन्दा बढी टिपर/ट्रकले नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल फोहोर लैजान्छन्। दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन् ।

तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरे डाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरे डाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो ।

मुस्किलले मात्र समयमा सम्पन्न हुने नेपालका आयोजनाहरूको अवस्था कहाली लाग्दो छ । नेता तथा कर्मचारीहरूले त्यसैमा राजनीति तथा कमाई खाने भाँडो बनाउने गरेकै कारण यस्ता आयोजनाहरू आकाशको फल आँखा तरी मर झैँ साबित हुन पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस