दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग तथा फर्मविरुद्ध मुद्दा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग तथा फर्मविरुद्ध मुद्दा


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून गुणस्तर र दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग/ फर्म विरुद्ध मुद्दा दायर गरेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ती फर्म तथा उद्योगविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

मुद्दा दायर गरिएका मध्ये दूध तथा दूधजन्य पदार्थका १३, मसला एवं पिउने पानी उद्योग विरुद्ध पाँच/ पाँच थान मुद्दा दायर भएका छन् ।

यस्तै खाद्यान्न र दलहन तथा सोबाट बनेका पदार्थ उत्पादन गर्ने पाँच र चियाका चार उद्योगविरुद्ध मुद्दा दायर भएको छ ।

यस्तै मह, सोयासस, तेल र दाना उत्पादन गर्ने एक /एक वटा उद्योगविरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

विभागले ६ महिनाको अवधिमा बजार अनुगमन गरेर २ हजार १२४ नमुना सङ्कलन गरेको र सोमध्ये ९ सय वटाको नमुना परीक्षणको रिपोर्ट प्राप्त भएको थियो ।

तीमध्ये ७४ वटाको रिपोर्ट प्रतिकुल पाइएको विभागको भनाइ छ । रिपोर्ट प्रतिकुल पाइएका मध्ये ३८ वटाको मुद्दा बुझाइएको र बाँकी अनुसन्धानकै क्रममा रहेको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस