बेनी–जोमसोम खण्डमा धमाधम पक्की पुल बन्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बेनी–जोमसोम खण्डमा धमाधम पक्की पुल बन्दै


२९ माघ २०७८, शनिबार


बेनी । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा कालीगण्डकी नदी र यसका सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण हुन थालेका छन् ।

केही वर्षअघिसम्म बेलीब्रिज र खोलाबाटै सवारी वारपार गर्दै यात्रा गर्नुपर्ने भए पनि अहिले भने धमाधम पक्की पुल बनेपछि आवतजावत सहज बन्दै गएको छ ।

कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी–जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ ।

सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित पोखरेबगर र महभिरमा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखगरेबगरस्थित वडा नं २ र ६ को सिमानामा कालीगण्डकी नदीमा भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम क्षेत्र सेक्टर कार्यालयमार्फत ठेक्का लगाएर ७० मिटर लामो ११ मिटर चौडाइ भएको पक्की पुल निर्माण भएको छ ।

भ्याटसहित आठ करोड २४ लाखमा ठेक्का लिएको हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले कोरोना महामारीलगायतका कारण समयसीमाभन्दा केही थप समय लिएर पुल निर्माण सम्पन्न गरेको विभागका पश्चिम सेक्टर कार्यालयका इञ्जीनियर आशिक रिजालले जानकारी दिए ।

कोरोना महामारी, बाढीपहिरालगायत कारण निर्धारित समयमा सम्पन्न नभएपछि गत वर्ष पुस मसान्त २०७८ सम्म सम्पन्न गर्ने गरी एक वर्षको म्याद थप गरिएको थियो ।

यसअघि महभिरस्थित अन्नपूर्ण–७ र रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ जोड्ने गरी कालीगण्डकी नदीमा समेत पक्की पुल निर्माण भइसकेको छ । ८० मिटर लामो र ११ मिटर चौडाइ भएको यो मोटरेबल पुल भ्याटसहित नौ करोड नौ लाखमा ठेक्का सम्झौता भएर काम गरिएको विभागले जनाएको छ । गत असोजमा नै काम सम्पन्न गरी हाल पुलमा यातायात सञ्चालन हुँदै आएको छ ।

पोखरेबगर र महभिरस्थित कालीगण्डकी नदीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले ठेक्का लिएको थियो । एघार–एघार मिटर फराकिलो दुईवटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइनसमेत गरी पुल निर्माण गरेको हो ।

विसं २०६४ मा मार्ग खुलेको बेनी–जोमसोम सडकको महभिर र पोखरेबगरमा यसअघि फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका थिए । दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बाढी पहिराका कारण निर्माणको समय एक वर्षपछि धकेलिए पनि सरकारले थप गरेको समयसीमाभित्रै पुल निर्माणको काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीबाट कोरला नाका जोड्ने सडकमा नौवटा मोटर चल्ने पुल निर्माण सम्पन्न भएका छन् ।

एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत थप १२ वटा पुल निर्माणाधीन रहेको आयोजना प्रमुख जगत् प्रजापतिले जानकारी दिए । उनकाअनुसार थप पाँच ठाउँमा पुल निर्माणको लागि प्रस्ताव गरिएको छ ।

यी खोलामा बने पुल

आयोजनाअन्तर्गत म्याग्दी खण्डको रघुगङ्गा नदीमा ४० मिटरको पुल निर्माण सम्पन्न भएको छ । यो पुल छ करोड ८७ लाखमा शर्मा गजुरमुखीले ठेक्का लिएर सम्पन्न गरेको हो । त्यस्तै अन्नपूर्ण गाउँपालिका– ३ स्थित दानाको घट्टेखोलामा पाँच करोड ८७ लाख लागतमा ४० मिटरको पुल निर्माण भएको छ । मुस्ताङ खण्डमा लेतेखोलामा पुल निर्माण सम्पन्न भएको छ ।

गजुरमुखीले ४० करोड २० लाखमा ठेक्का लिएर पुल निर्माण सम्पन्न गरेको छ । त्यस्तै मुस्ताङको घरपझोङ गाउँपालिकाको स्याङखोलामा ११५ मिटर लामो मोटरेबल पुल मुक्तिनाथ श्री गीता जेभी कम्पनीले १० करोड ५२ लाख लागतमा निर्माण सम्पन्न गरेको छ । पाण्डाखोलामा ५० मिटरको पुल चार करोड ३७ लाखमा निर्माण सम्पन्न गरेको छ । कागबेनीमा २५ मिटरको पुल गलुवा रफिना जेभी कम्पनीले पुल निर्माण सम्पन्न गरेको छ ।

बेगखोलामा पुल निर्माण सुरु

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नै म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको हो ।

विसं २०८० चैतमा सम्पन्न गर्ने सम्झौतासहित विसं २०७८ असार २९ गते बिओकेआइ–हिमालयन जेभीले भ्याटसहित आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता भएको विभागका इञ्जीनियर रिजालले जानकारी दिए ।

बेलीब्रिजसमेत बाढीले बगाएको बेगखोलामा पुल निर्माण गर्न निर्माण व्यवसायीले नै पुलको डिजाइन आफैँ गर्ने गरी ठेक्का सम्झौतामा भएको छ । बेगखोलामा पुल बगाएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीले निरन्तर सास्ती खेप्दै आएका छन् ।

पुल निर्माणका लागि पटक–पटक ताकेता गरिएको र कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीलाई समेत समयमै काम सक्ने गरी काम अघि बढाउन आग्रह गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए ।

यस सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से झरनामा आएको बाढी र पहिराका कारण निर्माणाधीन पुल बगाएपछि कुन प्रविधिको प्रयोग गरी कस्तो पुल निर्माण गर्ने भन्ने अझै यकिन भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस