अध्यक्ष प्रचण्डलाई केपी ओलीको चुनौती : एमसिसी पास गर्ने प्रतिबद्धता पूरा गर्नुस् « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अध्यक्ष प्रचण्डलाई केपी ओलीको चुनौती : एमसिसी पास गर्ने प्रतिबद्धता पूरा गर्नुस्


२८ माघ २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पास गर्छौँ भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् ।

सत्ताधारी दलहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसिसीबारे पास गर्छौँ भनेर अमेरिकासँग भनेको भन्दै ओलीले अब उक्त प्रतिबद्धता पूरा गर्न चुनौती दिएका हुन् ।

एमसिसी पास गर्ने निर्णय गर्नुपर्‍यो भन्दै हिजो (बिहीबार) साँझ प्रचण्डले ओलीलाई फोन गरेका थिए । ओलीले त्यसबारे सत्तारुढ दलहरुले नै निर्णय गर्नुपर्ने जवाफ दिए ।

‘पहिले तपाईँहरूले नै ल्याएको एमसिसी मैले अघि बढाउँदा त्यसलाई मेराविरुद्ध हतियार बनाउनुभयो । तपाईँहरूले अमेरिकी राजदूतलाई दसौँपटक ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसिसी पारित गर्छौँ भन्नुभएको रहेछ । अर्को त लिखितै बुझाउनुभएको रहेछ,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘संसदमा तपाईँहरूकै बहुमत छ, यसमा अलमल किन गर्नुहुन्छ ? जनमत किन विभाजित गर्नुहुन्छ ?’

प्रचण्डले ओलीसँग एमसिसीबारे कि अहिले नै सबै दल मिलेर निर्णय गरौँ या त चुनावपछि पारित गर्छौँ भनेर अमेरिकालाई संयुक्त रुपमा भनौँ भन्ने प्रस्ताव गरेका थिए । जवाफमा ओलीले एमसिसी माओवादीका लागि आराजस्तै भएको प्रतिक्रिया दिए ।

‘तपाईँहरू अहिले एमसिसी नामको आरा हातमा लिएर बस्नुभएको छ, अगाडि बढेर पास गरे तपाईँहरूका कार्यकर्ता भड्किन्छन्, जनमत भड्किन्छ । पछाडि फर्किनुहुन्छ अमेरिकाले डन्डा देखाइसक्यो,’ ओलीले प्रचण्डसँग भने, ‘यो आराले अगाडि बढ्दा नि काट्छ ।’

अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर एमसिसी यही फागुन १६ गतेभित्रमा अनुमोदन नभए फिर्ता हुने र नेपालसँगको सम्बन्धबारे पुनर्विचार गर्ने चेतावनी दिएपछि दलहरुमा दबाव बढेको छ । त्यही दबाबका कारण प्रचण्डले ओलीलाई फोन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस