हिमपातले भोटखोला जाने सडक अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हिमपातले भोटखोला जाने सडक अवरुद्ध


२६ माघ २०७८, बुधबार


खाँदबारी । हिमपातले सङ्खुवासभाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिका जाने सडक अवरुद्ध भएको छ ।

हिमपातलका कारण यही माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएको भोटखोला गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि भोटखोलाको किमाथाङ्का, रिदाक, छुम्सुर, थुदामलगायत गाउँमा खाद्यान्य सङ्कट भएको प्रशासकीय अधिकृत भोटेले बताए ।

चार फिटसम्म हिउँ परेका कारण आवतजावत गर्ने सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकाको विभिन्न गाउँमा खाद्यान्य सङ्कट भएको हो । भोटखोला–१ को किमाथाङ्कामा ११६ घर, वडा नम्बर–२ को थुदामका १६ घर, रिदाकका ७७ घर र छुम्सुरका २२ घरपरिवारका लागि खाद्यान्य सङ्कट भएको प्रशासकीय अधिकृत भोटेले जानकारी दिए ।

खाद्यान्य सङ्कट भएका कूल २३१ घर परिवारका लागि तत्काल खाद्यान्य उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभा र गृह मन्त्रालयमा पत्राचार गरिसकेको प्रशासकीय अधिकृत भोटेले बताए ।

हिमपातले जनजीवन कष्टकर भई तत्काल खाद्यान्य ढुवानी गर्न नसकिने भएको उनको भनाइ छ । गाउँपालिकाले एक महिनाका लागि खाद्यान्य चामल, पिठो, तेल, दाललगायत सामग्री हेलिकप्टरमार्फत ढुवानीका जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई पत्राचार गरिसकेको उनले बताए ।

लगातारको हिमपातले सदरमुकाम खाँदबारी आउन र चीनतर्फ जाने सडक अवरुद्ध भएको छ । हिमपातले स्थानीयवासीले लगाएको अन्नबालीसमेत पुरिएको बताइएको छ । त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको स्थानीयवासीले बताएका छन् ।

कोरोना भाइरस सङ्क्रमण फैलन सक्ने भन्दै चीनले किमाथाङ्का नाका प्रवेश गर्ने चीनको देन्दाङ र चाँगा बजार प्रवेश गर्ने नाका दुई वर्षअघि देखि बन्द गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस