मन्त्री रेग्मीद्वारा भृकुटीमण्डप क्षेत्रको अनुगमन, भाडा नतिर्ने व्यापारीमाथि कारबाही गर्ने चेतावनी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्री रेग्मीद्वारा भृकुटीमण्डप क्षेत्रको अनुगमन, भाडा नतिर्ने व्यापारीमाथि कारबाही गर्ने चेतावनी


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छन् ।

भृकुटीमण्डपभित्र रहेका व्यापारीहरुले स्टल भाडासमेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले आज (मंगलबार) दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन गरेकी हुन् । त्यस क्रममा धेरैले भाडा नतिरेको पाइएको उनले बताइन् ।

भृकुटीमण्डपभित्र भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने मन्त्री रेग्मीले चेतावनी दिइन् । अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन त्यस क्षेत्रको अवलोकन गर्नुपरेको उनले प्रस्ट पारिन् । ‘आफ्नै आँखाले देखेर मात्रै सुधार गर्न सकिन्छ । त्यस कारण यसलाई सुधार, नियमन र व्यवस्थित गर्नका लागि जो-जो बस्नु भएको छ । उहाँहरुले पनि सहयोग गर्नुपर्‍यो । र, यसलाई म व्यवस्थित गर्न चाहन्छु, उनले भनिन्, धेरैले भाडा नतिर्ने गरेको पाइयो । भाडा नतिर्नेलगायत जसले अनियमितता गरेको छ, उसलाई कारबाही हुन्छ नै ।’

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम विचौलियाहरुले गरिरहेको उल्लेख गर्दै अब सोझै समाज कल्याण परिषद्ले भाडा सम्झौताको व्यवस्था गर्न लागिएको बताइन् । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने मन्त्री रेग्मीको योजना छ ।

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँका साना व्यापारीहरुलाई पनि सहयोग गर्न पटक-पटक आग्रह गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस