प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालको पत्रबारे समितिले छानबिन गर्नुपर्छ : रावल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालको पत्रबारे समितिले छानबिन गर्नुपर्छ : रावल


२४ माघ २०७८, सोमबार


काठमाडौँ । नेकपा एमाले सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी पारित गर्ने भनेर लेखेको पत्रबारे संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (सोमबार)को बैठकमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले देउवा र दाहालको पत्रले नेपालको कूटनीति कमजोर बनाएको पनि बताए ।

यो प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रूपमा लेखेको पत्र हो । यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विषय बन्नुपर्छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यस्तो पत्र लेखेर यो सम्झौता अनुमोदन गर्नेछौँ समय दिनुपर्‍यो भन्नुभएको छ । एमसिसी सम्झौताको सम्बन्धमा नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत उपयोग गर्नेछौँ भनेर लेखेपछि नेपालको कूटनीतिक सम्बन्ध कता गयो, उनले थपे, कूटनीतिमा यस्ता गतिविधिले राष्ट्रको स्वाभिमान झुक्ने काम भएको छ । अरु देशमा यस्तो भयो भने छानबिन मात्रै होइन‚ दण्डित हुन्थ्यो ।

यस्तो तरिकाले कूटनीति चल्छ ? रावलको प्रश्न थियो । देउवा र दाहाललाई कस्ता कूटनीतिज्ञले यस्तो सुझाव दिएको हो भन्ने पनि उनले जिज्ञासा राखेका थिए । प्रतिनिधिसभामा विचाराधीन सम्झौता यस्तो र उस्तो गर्छौँ भनेर पत्र लेख्ने अधिकार कुनै नेतामा नभएको उनको भनाइ थियो ।

प्रतिनिधिसभामा दर्ता गरिएको सम्झौता यस्तो र उस्तो गर्छौँ भन्ने अधिकार उहाँहरूसँग हुन्छ ? यसमाथि छानबिन भएर कारबाही हुनुपर्छ । तब मात्र कूटनीतिक क्षेत्रमा राम्रो सन्देश जान्छ, उनको भनाइ थियो, आफ्नो देशका जनताका कुरा नसुन्ने तर अर्कोलाई यस्तो पत्र लेख्ने ? यसमा हस्ताक्षर गर्ने बेला हात पनि काँपेनछन् ?

एमसिसी उपाध्यक्ष फातिमा सुमार एमसिसी सम्झौता नहुँदैमा अमेरिका र नेपाल सम्बन्धमा कुनै असर पर्दैन भनेर अभिव्यक्ति दिइरहेका बेला नेपालका कूटनीतिज्ञ भने सम्बन्ध बिग्रिन्छ भन्ने अभिव्यक्ति दिइरहेकोप्रति रावलले आपत्ति जनाए । हाम्रा कूटनीतिज्ञले सम्बन्ध बिग्रिन्छ भन्दै छन् । कूटनीति बुझेको हो कि फूटनीतिमात्रै बुझेको हो !, उनले भने ।

प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री दाहालले एमसिसीलाई लेखेको पत्र नेपालको कूटनीति कसरी चलेको छ भन्ने कुराको ज्वलन्त नमुना भएको रावलको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस