चन्द्रागिरि नगरपालिकाद्वारा आफ्नै नयाँ कलात्मक भवनबाट सेवा शुभारम्भ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चन्द्रागिरि नगरपालिकाद्वारा आफ्नै नयाँ कलात्मक भवनबाट सेवा शुभारम्भ


२४ माघ २०७८, सोमबार


काठमाडौँ । काठमाडौँ जिल्लाको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको ‘चन्द्रागिरि नगरपालिका’ले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको छ । उपत्यकाको मौलिक, सांस्कृतिक एवम् कलात्मक आँखी झ्याल शैलीमा नवनिर्मित छ तलाको सोही भवनबाट अब नगरको दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह हुने छ ।

भवनबाट पशु सेवा कार्यालय बाहेक अन्य सेवा नगरवासीले एकीकृत रुपमा पाउने छन् । यस अघि नै पशु सेवा कार्यालयको भवन रु १ करोड ५७ लाख लागतमा सम्पन्न भइसकेको जनाइएको छ ।

चन्द्रागिरि– १२ गुर्जुधारामा रहेको सात रोपनी जमिन मध्ये तीन रोपनीमा प्रशासकीय भवन बनेको छ भने चार रोपनीमा बाहिरी बगैँचा लगायतको संरचना निर्माणाधीन छन् । काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भन्ज्याङ, वाड भन्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भन्ज्याङका तत्कालीन गाउँ विकास समिति मिलाएर ‘चन्द्रागिरि नगरपालिका’ बनाइएको थियो । बाल, ज्येष्ठ नागरिक र अपाङ्गता मैत्री नवनिर्मित भवन अधिकांश नगरवासीलाई पायक पर्ने स्थानमा बनेको नगरवासीको ठम्याइ छ ।

भूकम्पप्रतिरोधि र अग्नि नियन्त्रक उपकरण जटित सो भवनमा करिब २०० क्षमताको सभा हल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनी मिटिङ हल’ तथा ‘अन्डरग्राउन्ड पार्किङ ’ छ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख घनश्याम गिरीले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा भवनको उद्घाटन गरे। उनीहरुले नै विसं २०७६ मङ्सिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गरेका हुन् ।

ती दुई स्थानीय तहका संयुक्त साझेदारीमा रु २५ करोड लागतमा भवन सहित बाहिरी आकर्षक बगैँचा सम्पन्न हुन लागेको हो । सो रकम मध्ये समन्वय समितिको रु १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको सो भवन सम्झौता अनुसार विसं २०७८ वैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ ।

नगरपालिकाका १५ वडा मध्ये अधिकांशले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सफल भएका छन् । पछिल्लो समय वडा नं ३ र ४ वडाको नयाँ कार्यालय भवन हाल मात्र निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेलले जानकारी दिए ।

सो अवसरमा नगरप्रमुख गिरीले भने, ‘नवनिर्मित नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्नेछ । नगरको भौतिक पूर्वाधार विकाससँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउने मेरो प्राथमिकतामा थियो । यस कार्यमा सफलता मिलेको छ ।’ समन्वय समिति काठमाडौँका प्रमुख राजवैद्यले महामारीका बिचमा भवन निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा समन्वय समिति र नगरपालिकाका बिचमा सहकार्य जारी रहने जानकारी दिए ।

कार्यक्रममा नगरपालिकामा कार्यरत कम्प्युटर अधिकृत (सातौँ तह) का सीताकुमारी कार्की र थानकोट अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्मालाई जनही रु ५० हजार नगद सहित सम्मान गरिएको थियो ।

सोही अवसरमा १३ औँ साग खेलकुद प्रतियोगितामा चन्द्रागिरि नगरनिवासी पदक विजेता खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कराँतेमा स्वर्णपदक विजेता प्रवीण मानन्धर, बक्सिङमा रजत पदक विजेता ललिता महर्जन, भलिबलमा रजत पदक विजेता प्रतिभा माली, सलिना श्रेष्ठ, रेश्मा भण्डारी तथा प्रशिक्षक द्वय कराँतेका वीरकृष्ण शाही र बक्सिङका दीपक महर्जन छन् । कार्यक्रममा नगर उपप्रमुख लिशा नकर्मीले नगरका विकासका गतिविधिबारे चर्चा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस