रोल्पामा सडक स्तरोन्नतिको आवश्यकता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोल्पामा सडक स्तरोन्नतिको आवश्यकता


२४ माघ २०७८, सोमबार


रोल्पा । गत कात्तिक २८ गते रोल्पाको माडी गाउँपालिका–१ घर्तीगाउँमा भएको जीप दुर्घटनामा एक महिलासहित तीन जनाको ज्यान गयो । दुर्घटना घर्तीगाउँ बजार नजिक शहीदमार्गमा भएको थियो । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका थिए । घटनामा तीन गम्भीर घाइते भए ।

गत मङ्सिर १ गते माडी गाउँपालिका–४ तार्केवाङमा भएको बस दुर्घटनामा एक महिलासहित चार जनाको ज्यान गयो । दुर्घटनामा १८ जना घाइते भए । दाङ घोराहीबाट रोल्पाको थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ शहीदमार्गमा दुर्घटना भएको थियो । बस शहीदमार्गबाट २०० मिटर तल खोलामा खसेको छ । जलजला दर्शनका लागि सो बस बुकिङ गरिएको थियो ।

यस्तै गत पुस १८ गते रोल्पा नगरपालिका–९ ह्वामा गर्पामा अटोरिक्सा दुर्घटना भयो । दुर्घटनामा चालकको मृत्यु भयो । रोल्पामा सडक दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोल्पामा १४ सवारीसाधन दुर्घटनामा परे । दुर्घटनामा तीन महिलासहित १५ जनाले ज्यान गुमाए । दुर्घटनामा १५ महिला, ११ पुरुष र नौ बालबालिका घाइते भए ।

यस्तै आव २०७६/७७ मा जिल्लामा २४ सवारीसाधन दुर्घटना भए । दुर्घटनामा परी दुई महिला, १० पुरुष र एक नाबालिकाको ज्यान गयो । दुर्घटनामा पाँच महिला, १९ पुरुष र ६ बालक घाइते भए । आव २०७५/७६ मा २६ सवारीसाधन दुर्घटना भए । दुर्घटनामा एक महिला, १० पुरुष र चार बालबालिकाको ज्यान गयो । दुर्घटनामा २३ महिला, २५ पुरुष र नौ बालबालिका घाइते भए ।

जिल्लामा पक्की सडक ५८ किलोमिटर मात्रै छ । चकचके लिवाङ खुङ्ग्री लिवाङखण्ड ३८ किलोमिटर, लिवाङ सिमलवाङ पाँच किलोमिटर, घोराही चुनवाङ शहीदमार्ग १३ किलोमिटर र सुलीचौर काधधारादेखि केराबारी तीन किलोमिटर लामो छ । जिल्लाका अन्य सबै सडक कच्ची छन् । अधिकांश सडक मापदण्ड विपरीत छन् । साँघुरो मोड, मापदण्डभन्दा बढी उकालो ओरालो भएका सडकमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रञ्जित आचार्यको भनाइ छ ।

जिल्लाभर सडक सञ्जाल विस्तार भए पनि यसको नियन्त्रण र नियमन गर्ने निकाय ट्राफिक प्रहरीको पहुँच भने निकै कम छ । जिल्लामा हाल १२ मात्रै ट्राफिक प्रहरी कार्यरत छन् । सदरमुकाम लिवाङमा पाँच जना, सुलीचौर र होलेरीमा दुई/दुई तथा सातदोबाटो, दारबोट र घर्तीगाउँमा एक/एक ट्राफिक प्रहरी कार्यरत छन् । सडकका खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाएको छ । सडक स्तरोन्नतिका नाममा बर्सेनी करोडौँ बजेट खर्च हुने गरेको छ । बाटोको अवस्था भने उस्तै छ ।

जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौँ बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद पक्ष भएको सरोकारवालाको भनाइ छ । जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कूल बजेटको झन्डै ६० प्रतिशत बजेट विनियोजन गर्ने गर्दछन् ।

सङ्घीय सरकार र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ । यो क्रमले विगत पाँच वर्षयता निरन्तरता पाइरहे पनि जिल्लाका सडक गुणस्तरीय भएको जिल्लावासीको गुनासो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस