राष्ट्रिय समस्या समाधानका लागि सकारात्मक छलफल: सरकारका प्रवक्ता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राष्ट्रिय समस्या समाधानका लागि सकारात्मक छलफल: सरकारका प्रवक्ता


२४ माघ २०७८, सोमबार


काठमाडौँ । सरकार र प्रमुख प्रतिपक्षीबीच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गर्नुभएको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घन्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सो अवसरमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएको उनको भनाइ छ ।

‘आजको छलफल सकारात्मक भएको छ । निरन्तर छलफललाई अगाडि बढाएर निष्कर्षमा पुर्याउँछौँ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने ।

यस्तै संसद्मा लामो समयदेखि जारी रहेको गत्यावरोधलाई हटाउने विषयमा पनि महत्वपूर्ण संवाद भएको उनको भनाइ छ । राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा अगाडि बढाउन आजको छलफल ‘आइसब्रेक’ भएको मन्त्री कार्कीले उल्लेख गरे ।

उनले संसद्को प्रभावकारिता बढाउने र जीवन्त बनाउने विषयमा प्रमुख प्रतिपक्षीसँग महत्वपूर्ण छलफल भएको र यसलाई निरन्तर जारी राखेर चाँडै निष्कर्षमा पुर्याइने उनले जानकारी दिए ।

फरक एक प्रसङ्गमा मन्त्री कार्कीले सत्तारूढ गठबन्धनमा कुनै पनि अविश्वास नरहेको समेत उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस