शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल


२३ माघ २०७८, आइतबार


बलेवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताएका छन् ।

विद्यालयको भौतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको उनले बताए ।

प्रेस सेन्टर, बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले १८ हजार शिक्षक दरबन्दी खुलाउने बताए । आन्तरिक बढुवा खुलाउने, नयाँ दरबन्दी खोल्ने र विद्यालय गाभ्ने अभियान थाल्ने उनले बताए ।

देशभरका विद्यालय र शिक्षकको अनुपात अध्ययन गरी दरबन्दी थप्ने तयारीमा सरकार पुगेको उनले उल्लेख गरे । शिक्षा क्षेत्रको सुधारका लागि तीन नयाँ ऐन मन्त्रालयले तयार गरिसकेको उनको भनाइ थियो ।

सङ्घीय शिक्षा ऐन, विश्वविद्यालय ऐन र प्राविधिक शिक्षा व्यवस्थापन गर्ने नयाँ ऐन बनिसकेको र संसद्मा लैजाने तयारी भएकाले कानुनी समस्या पनि छिट्टै अन्त्य हुने मन्त्री पौडेलको धारणा छ ।

ती ऐन पारित हुँदा देशको शैक्षिक स्थितिमा धेरै सुधार हुने उनको दाबी थियो । अठार वर्षदेखि रोकिएको आन्तरिक बढुवाको सुरुआत भएकाले शिक्षकमा ऊर्जा आउने उनले बताए ।

शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाइएको भन्दै मन्त्री पौडेलले अबका दिनमा शिक्षकले फाइल बोकेर मन्त्रालय धाउने कामको अन्त्य गरेर आवश्यकताको आधारमा काम हुने पद्धति विकास गरिएको दाबी गरे ।

मन्त्री पौडेलले चार वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले तयारी गरेको उल्लेख गर्दै खोप ल्याउने क्रम सुरु भइसकेको सो अवसरमा जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस