प्रेस काउन्सिलको ध्यानाकर्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रेस काउन्सिलको ध्यानाकर्षण


२० माघ २०७८, बिहिबार


काठमाडौँ । प्रेस काउन्सिल नेपालले कोभिड–१९ महामारीका विषयमा पुस्ट्याइँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी तथ्यगत पुस्ट्याइँबेगर सामग्री तयार भई एक समाचार संस्थाबाट समेत सञ्चारमाध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएको प्रति काउन्सिलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

समाचार सामग्री तयार एवं सम्प्रेषण गर्नु पूर्व सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गरी वितरण र सम्प्रेषण गर्न गराउन समाचार संस्था, सञ्चारमाध्यम र सम्बन्धित पक्षसँग काउन्सिल अनुरोधसमेत गरेको छ ।

काउन्सिलका प्रवक्ता दीपक खनालले हस्ताक्षर गरेको सो विज्ञप्तिमा तथ्यगत पुस्ट्याइँ नभई अपुष्ट स्रोत र त्यसको परीक्षणबेगर सम्प्रेषित सामग्रीले समाजमा भ्रम फैलाउने भएकाले सञ्चारमाध्यमले सत्य, तथ्य, सन्तुलित एवं विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७५) मा सञ्चारमाध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन/प्रसारण वा बाह्य लिङ्कहरू प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्दछ भन्ने व्यवस्थाका बारेमा पनि स्मरण गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस