गालीगलौजमा उत्रिएको भन्दै वागमतीका मुख्यमन्त्री पाण्डे प्रति एमाले आक्रोशित, कडा प्रतिवाद गर्ने चेतावनी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गालीगलौजमा उत्रिएको भन्दै वागमतीका मुख्यमन्त्री पाण्डे प्रति एमाले आक्रोशित, कडा प्रतिवाद गर्ने चेतावनी


२० माघ २०७८, बिहिबार


काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पदको मर्यादा विपरीत गालीगलौजमा उत्रिएको र भ्रष्टाचारमा संलग्न भएको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।

एमाले वागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभामै विपक्षी दलमाथि सरकार प्रमुख संसदीय मर्यादा विपरित व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।

अघिल्लो प्रदेश सरकारले स्थापना कालमै लागू गरेका नीति कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजनाहरू कटौती गर्ने तथा रकमान्तर गरेर अन्धाधुन्ध खर्च गरेको आरोप एमालेले लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले मन्त्रालय फुटाएको छ तर कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । जताततै अस्तव्यस्तता सिर्जना गरिएको छ । सरकार प्रमुख सभा समारोहमा मेरो पार्टीको कमिटी नबनेको वडामा एक रुपैयाँ पनि बजेट हाल्दिन भन्दै हिँडिरहनु भएको छ । सङ्घीयता विरोधीहरुका लागि टाउको उठाउन र सङ्घीयतालाई ध्वस्त पार्न यो भन्दा राम्रो अवसर के हुन सक्छ ?’

एमालेले प्रदेश सरकारका गलत कामको साक्षी नबस्न कर्मचारीलाई समेत सचेत गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस