सुब्बा जुजुमान र प्रशासनिक विरासत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुब्बा जुजुमान र प्रशासनिक विरासत


२० माघ २०७८, बिहिबार


सुब्बा जुजुमान विरुद्ध भीम सम्सेर नामको राजाकालीन नजिर छ, चितरञ्जन नेपालीद्वारा लिखित “जङ्गबहादुरको कथा”नामक पुस्तकमा । सुब्बा जुजुमानले एउटा नागरिक दिनदहाडै नेपालगन्जमा मारिएको विषयमा छानबिन गरी धर्म कचहरीमा श्री ३ महाराजाचन्द्र सम्सेर समक्ष पेस गरेको प्रतिवेदन र सोको आधारमा भएको फैसलाको नजिर हो सुब्बा जुजुमानको यथार्थ । यस आलेखमा सुब्बा जुजुमानको कथा र समकालीन नेपाली प्रशासनमा यसको विरासतको विषयमा प्रशासनिक सोच, शैली र संस्कारको सामान्य चिरफार गर्ने प्रयत्न गरिएको छ ।

सुब्बा जुजुमानको सत्य कथा

तप्त सिंह थारु नामक रैती दिनदहाडै नेपालगन्जमा मारिए । श्री ३ महाराजचन्द्र सम्सेर कहाँ दुई प्रकारका जानकारी आए । पहिलो मरेको तत्कालीन बडाहाकिमबाट, अर्को मारिएको विशेष सूत्रबाट । महाराजलाई शङ्का प¥यो । तुरुन्तै सुब्बा जुजुमानलाई केरकारको अधिकार सहित छानबिनको अधिकार दिएर महाराजबाट नेपालगन्ज खटाइयो । नेपालगन्ज पुग्नासाथ छोटो समयमा नै मार्ने पत्ता लाग्यो ।

सुब्बा जुजुमानले तत्कालीन बडाहाकिमलाई कब्जामालाई अड्डा सार गर्दै काठमाडौँ ल्याए । राय सहितको प्रतिवेदन, रोलकलका एक नम्बरी भीम सम्सेरमा जाहेर भयो । उनीमार्फत श्री ३ मा जाहेर हुने व्यवस्था थियो । ती बडाहाकिम परेछन् भीम सम्सेरका विश्वास पात्र । भीम सम्सेरले सुब्बा जुजुमानलाई आफ्नो कार्यालयमा झिकाए र फर्मान जारी गरे : ए सुब्बा जुजुमान तँ वादी म प्रतिवादी हिँड श्री ३ कहाँ जाऊँ बहसको लागि । सुब्बा जुजुमानको के हालत भयो होला ! तर उनले हिम्मत हारेनन्, टोपी खोले र भने महाराज कुन औकातको म कुन औकातको सरकारसँग वादी र प्रतिवादी हुन सेवक भएको होइन, यो मुद्दा यहीँ मुल्तबीमा गए श्री ३ कहाँ जानै पर्दैन । तर भीम सम्सेरको पनि औकात थिएन मुल्तबीमा लाने ।

भोलिपल्ट धर्म कचहरीमा श्री ३ समक्ष पेस भयो र दिनभर बहस चल्यो । फैसला आयो ः ज्यानमारा बडाहाकिमलाई कैद सजाय गर्ने र नमकको सोझो गरी कार्य सम्पादन गर्ने सुब्बा जुजुमानलाई रु चार सय इनाम बक्सिस दिने । त्यसले सुब्बा जुजुमानलाई तत्कालीन उपलब्धि त भयो । तर यस्तो बेचैन बनाएछ कि उनले आफ्ना भाइ भतिजा भेला गरेर त्यस मुद्दासँग जोडिएका हैरानी, दाउपेच र त्रासका विषयमा जानकारी गराए । अनि निष्कर्ष सुनाए अदालतमा जागिर खाँदा यस्तो हैरानी धेरै व्यहोर्नु पर्छ, अरुनै काम गरे भयो अदालतमा जागिर नखानु । र चित्तरञ्जन नेपाली स्वयं सुब्बा जुजुमानको सन्तान हुनुहुन्छ । उहाँको अनुसार आजसम्म सुब्बा जुजुमानका सन्तानले अदालतमा जागिर खाएका छैनन् रे ।

समकालीन नेपाली समाजमा यस घटनाको विरासत

माथि उल्लेखित दृष्टान्तको थप सत्य कथा पनि छ । तर अगाडिको विषयवस्तु सुब्बा जुजुमानका सन्तानले किन अदालतमा जागिर खाएनन् भन्नेमा केन्द्रित छ । यो सुब्बा जुजुमानका सन्तानको मात्र होइन, अपितु धेरै उच्च प्रशासकका छोराछोरी किन सरकारी सेवामा आकर्षित हुँदैनन् । यस सन्दर्भमा मूलतः सरकारी सेवाका दाउपेच, सेवा सुविधाको सापेक्षिकता र माटोको वासनासँग जोडिएका छन् ।

सरकारी सेवाका दाउपेच

उच्च प्रशासकले सेवा जीवनमा धेरै दाउपेच र हैरानी खेप्नु पर्ने अवस्था हुन्छन् । शासकका आकाङ्क्षा र प्राथमिकता सर्वे भवन्तु सुखिनः नै हुन्छ । बहुजन हिताय नीति तथा कार्यक्रम र सर्वसाधारणको हितमा नै केन्द्रित हुन्छ । यस कार्यमा यथार्थमा भीम सम्सेर प्रवृत्ति हाभी हुन्छ । स्वयं शासकहरू नै भीम सम्सेर कै सृङ्खलापार गरेर शासक भएका हुन्छन् । नेपालको शासकीय प्रणालीमा उच्च प्रशासकहरू राजनीतिक, आर्थिक र समय सन्दर्भले रातारात काजी र पाजी बनाइन्छन् ।

उदाहरणको लागि राजा ज्ञानेन्द्रको शासनकालमा रातारात केही उच्चप्रशासकहरु (सचिवहरू) बिना कारण अर्थात् पद्धतिगत कार्य सम्पादनको अडान लिँदा अतिरिक्त समूहमा पठाइए । तिनका छोराछोरीहरू जसले अघिल्लो दिनसम्म बा-आमाको वैभव, भूमिका र फूर्तिपनामा आएको गिरावटको अनुभूति गरेका पक्कै थिए । यसले ती छोराछोरीमा सरकारी सेवाप्रतिको आकर्षण कसरी बढ्ला ? आखिर त्यही राजा ज्ञानेन्द्रको पालामा निर्णयको पुनरावृत्तिकै रूपमा हाल प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा कुर्सी नै नपुग्ने गरी काममा खटाइएका करिब दर्जन सचिवहरूको हविगत हेर्दा थप पुस्ट्याइँ हुँदैन र ! पद्धतिगत व्यवस्थाको संस्थागतीकरण हुन नसक्दा उच्च प्रशासकका छोराछोरीले बुझको दाउपेचले सरकारी सेवामा आकर्षण गर्न सकेको पाइँदैन ।

सेवा सुविधाको सापेक्षिकता

उच्च प्रशासकका छोराछोरीले शिक्षा आर्जनमा पाएको सेवा, सुविधा र अवसरले गर्दा उनीहरूमा सक्षमता, कुलीनता र आकाङ्क्षा बढेको हुन्छ । यता सरकारी सेवामा उपलब्ध हुन सक्ने वैधानिक सेवा, सुविधा र अवसरमा न्यूनता हुन्छ । अर्कोतिर उनीहरू विश्व बजारमा उपलब्ध उच्च र सुविधा सम्पन्न अवसरको खोजीमा हुन्छन् नै । यो मानवीय स्वभाव पनि हो । संसारका विकसित मानिएका देशहरूमा आफ्नो भविष्य देख्दछन् । उदाहरणको लागि नेपालमा एउटा सरकारी सेवकको रूपमा वृत्ति सुरुवात गर्दा वार्षिक करिब ६ लाख आय हुन्छ । जबकि संयुक्त राज्य अमेरिका, अस्ट्रेलियामा वा क्यानडामा त्यो आम्दानी औसतमा ५० लाखभन्दा बढी हुन्छ । त्यो कमाइसँग जोडिएको जीवनस्तर, जीवनशैली र वैभव पक्कै उच्च हुन्छ नै । हुन त उतै राम्रो भन्ने पनि होइन । तर यथार्थ त यही हो की अर्थशास्त्रको प्रिन्सिपल अफलो ह्याङ्गिङ फ्रुट्सले यता भन्दा उतै आकर्षण गर्दछ । सरकारी सेवामा खान्की भन्दा बान्की रमाइलो भन्नेमा चित्त बुझाउन सक्ने थोरै मात्र आकर्षित होलान् की ।

माटोको वासना

माटोको वासनालाई आफू जन्मेको ठाउँ, माता पिता एवम् आफ्नो समाजलाई माया गर्ने, प्राथमिकता दिने र जीवनशैलीमा रूपान्तरण गर्ने राष्ट्रिय भावनामा आएको खुकुलोपनासँग जोडेर हेरिएको छ । हाम्रो शिक्षा प्रणाली, रोजगार पद्धति र पारिवारिक प्रेममा आएको गिरावटले हाम्रो देश खत्तम, नेता जाली, कर्मचारी झेली भन्ने खालको कथानक तयार भएको छ । उदाहरणका लागि आज हामीकहाँ ९-१२ सम्म अध्ययन गर्ने सहरी विद्यार्थीलाई सोध्ने हो भने ७० प्रतिशत भन्दा बढीको आफ्नो भविष्यमा काम गर्ने, बस्ने र जीवन चलाउने देश स्वदेश होइन विदेश हो भन्ने जवाफ आउँछ । यसले के निर्दिष्ट गर्छ भने समाज परिवर्तन, राष्ट्र निर्माण र देशको विकास गति र मति कता जादैँछ भन्ने देखाउँछ । परिणाममा के देखिएको छ भने हाम्रा गाउँ सापेक्षिक सुविधाविहीन हुँदै गएका छन्, नेतृत्वप्रतिको भरोसा कमजोर हुँदै गएको छ, सरकारी सेवा, सुविधा छिटो छरितो र मितव्ययी छैनन् । जसले गर्दा सरकारी सेवाका उच्च प्रशासकका छोराछोरी सरकारी सेवामा आकर्षित हुने अवस्थामा भारी गिरावट आएको छ ।

सारमा सुब्बा जुजुमानका सन्तानहरूले जुन तरिकाले आफ्ना बाजेका भावनालाई अनुसरण गरे, सबै उच्च प्रशासकका छोराछोरीले त्यसैगरी सरकारी सेवामा आकर्षित नभएका होइनन् । वास्तवमा हाम्रो प्रशासनको पर्यावरणमा माथि विश्लेषित सन्दर्भहरूमा केही सत्यता रहेको उजागर मात्र गरिएको हो । हुन त हाम्रो प्रशासनिक प्रणालीमा माथिका तर्कहरू कुनै न कुनै तरिकाले स्थापित हुँदै गएका छन् । यस पङ्क्तिकारको तर्क गलत होस् । हाम्रो प्रशासनतन्त्र कम कम्मा छ । तथापि यसमा योग्यता, क्षमता, ल्याकतको सम्मान हुने वातावरणको सिर्जना होस्, यही शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस