शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साह « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साह


१९ माघ २०७८, बुधबार


चितवन । मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन् ।

दुई ठुला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठुला निजी अस्पताल रहेको भरतपुरमा शिक्षक अस्पताल स्थापनासँगै स्वास्थ्य क्षेत्रको थप विकास हुने भएको छ ।

भरतपुर महानगरपालिका–१५ भगवानपुरमा जग्गा उपलब्ध गराउन महानगर सहमत भएसँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो ।

शिक्षा मन्त्रालयले शिक्षक अस्पताल बनाउन सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति गठन गरेसँगै यहाँ अस्पताल बनाउन भरतपुर महानगरपालिकाले पहल थालेको थियो ।

अस्पताल बनाउन प्रस्ताव गरिएको ठाउँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र एवं गाउँसमेत हो । महानगरपालिकाका प्रमुख रेनु दाहालले सो ठाउँमा ८ बिघा १६ कट्ठा जग्गा उपलब्ध गराएसँगै सोही ठाउँमा अस्पताल बनाउने निर्णय भएको बताइन् ।महानगरपालिकाको प्रयास सफल भएको भन्दै उनले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

प्रमुख दाहालले भनिन्,’अस्पताल बनेसँगै स्थानीयवासीको जीवनस्तर उकासिने छ । रोजगारी सिर्जना हुने, व्यापार व्यवसाय फस्टाउने र स्थानीय उत्पादन खपत हुनेछ ।’ यसले मेडिकल सिटीका रुपमा अघि बढेको भरतपुरको विकासमा थप टेवा पुग्ने उनको भनाइ छ । आम नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन यो अस्पताल सहयोगी बन्ने उनी बताउँछिन् ।

नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले शिक्षक आन्दोलनले स्थापित गरेको शिक्षक अस्पताल चितवनमा बन्ने निर्णयले यहाँको समग्र विकास हुने बताए । शिक्षकको छुट्टै अस्पताल हुँदै गर्दा यसबाट आम नेपालीले लाभ लिन सक्ने उनको भनाइ छ । उनले भने, ‘चितवनलाई मेडिकल हबको रुपमा विकास गर्न सहयोग पुग्छ ।’ नेकपा (एमाले)का नेता रामप्रसाद न्यौपानेले भरतपुरलाई साँच्चिकै मेडिकल सिटीको रुपमा विकास गर्न अस्पताल सहयोगी हुने बताए ।

उनले भने, ‘कार्यान्वयन कसरी हुन्छ, त्यो हेर्न बाँकी नै छ ।’ यसले यहाँको स्वास्थ्य सेवालाई थप सुधार गर्दै लैजाने उनको भनाइ छ । माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले महानगरको पहलमा जुन उपलब्धि जिल्लाले पायो यो हामी सबैका लागि गौरवको विषय भएको बताए । उनले भने,’अन्य क्षेत्रको विकाससँगै स्वास्थ्य सेवाको विकासमा यसले थप ऊर्जा भरेको छ ।’ महानगरका गाउँ गाउँसम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन यो सहयोगी हुने उनको भनाइ छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले शिक्षक केन्द्रीय अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने बताए । यसो हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ । यो अस्पतालबाट चिकित्सक र सेवाग्राही दुवैले सहज सुविधा पाउने उनले बताए ।

उनले भने ‘स्वास्थ्य शिक्षा पढ्ने विद्यार्थीले सहज र सर्वसुलभ रुपमा उपयोग गर्न पाउनेछन् ।”चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा. हरिश्चन्द्र न्यौपानेले देशभरिबाट शिक्षक यहाँ उपचार गर्न आउँदा थप सुविधाका लागि मेडिकल कलेज उपयोग गर्न पाउने बताए । यसबाट निजी क्षेत्र समेत लाभान्वित हुने उनको भनाइ छ । उनले भने, ‘राम्रो सेवा दिन सक्यौँ भने त्यहाँबाट पठाइएका बिरामी अन्यत्र जान पर्दैन, हामीले सेवा दिने अवसर पाउँछौँ ।’

नेपालमा स्थायी शिक्षक एक लाख सात हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक एक लाख ५० हजार र पूर्व शिक्षक ३० हजार रहेका छन् । यस अस्पतालले सर्वसाधारणको पनि उपचार गर्ने छ । अस्पताल बन्दै गर्दा कार्यविधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुविधाको बारेमा निर्णय हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस