वाग्मती नदीमा पुल बन्ने भएपछि सर्लाही र रौतहटवासी खुसी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वाग्मती नदीमा पुल बन्ने भएपछि सर्लाही र रौतहटवासी खुसी


२० पुस २०७८, मंगलबार


seti-nadi- moterable pul

सर्लाही । सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयवासी खुसी भएका छन् ।

लामो समयदेखि अलपत्र रहेको पुल निर्माणका लागि सम्बन्धित निकायले बोलपत्र आह्वान गरेपछि सर्लाही र रौतहटका स्थानीयवासीमा खुसी देखिएको हो ।

विसं २०६७ जेठ ३१ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको बडहर्वा नजिकैको वाग्मती नदीको पुलको निर्माण हुँदाहुँदै ठेकेदार कम्पनीले छोडेको थियो ।

विगत ११ वर्षदेखि अलपत्र रहेको सो पुल निर्माणका लागि हुलाकी राजमार्ग आयोजनाद्वारा हालै पुरानो रद्द गरी नयाँ बोलपत्र आह्वान गरिएको छ । बोलपत्र आह्वान भएपछि पुल निर्माण हुने आशा सर्लाही र रौतहटवासीमा पुनः पलाएको छ ।

पुरानो ठेक्का सम्झौता रद्द गरी करिब रु ८० करोडको लागतमा नयाँ ठेक्का आह्वान गरिएको आयोजनाका निर्देशक धर्मेन्द झाले जानकारी दिए । ‘लामो समयदेखि अलपत्र परेको निर्माण कार्यका कारण त्यस क्षेत्रको लाइफलाइन नै अस्तव्यस्त बनेको थियो । वर्षात्को समयमा स्थानीयवासीलाई आवतजावतमा निकै सास्ती भएको थियो’, उनले भने, ‘यसअघि सम्झौता भएको निर्माण कम्पनीसँगको ठेक्का रद्द गरिसकिएको र अब नयाँ ठेक्का लागेपछि समयमै काम सम्पन्न हुनेमा आयोजना विश्वस्त रहेको छ ।’

आयोजनाका अनुसार तराई–मधेसका जिल्ला सदरमुकामलाई जोड्ने महत्त्वाकाङ्क्षी परियोजना हुलाकी राजमार्गअन्तर्गत दुर्गा भगवती गाउँपालिका–५ बडहर्वास्थित वाग्मती नदीमा निर्माण हुँदै गरेको उक्त पुलको ६० प्रतिशत मात्रै काम सकिएको छ । यसअघि ठेक्का लिएको लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले पुलको पिलर मात्र बनाएर त्यतिकै छाडेको थियो ।

रु ३५ करोड ८९ लाख नौ हजार चार सय ३३ मा ठेक्का सकार गरेको लुम्बिनीले विसं २०७० जेठ ३० मा निर्माण सक्ने गरी विसं २०६७ जेठ ३१ मा सम्झौता गरेको थियो । छ सय ३३ मिटर लामो पुलमा १७ स्पान बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । तर सबै स्पान ठडिएपछि बाँकी काम अलपत्र परेको थियो ।

लुम्बिनी बिल्डर्स प्रालिले ठेक्का सकारे पनि सम्पूर्ण कामको जिम्मा पप्पु कन्स्ट्रक्सनलाई दिएको थियो । निर्माणकै क्रममा नदीले धार बदलेपछि पप्पुले पनि विसं २०७० मै काम बन्द गरेको हो । साबिकको स्थानभन्दा पूर्वबाट नदी बग्न थालेपछि पुलको औचित्य नहुने भन्दै तत्काल काम रोकिएको थियो । त्यसपछि निर्माण कम्पनीले डिजाइन गलत भएको भन्दै एकतर्फीरुपमा ठेक्का रद्द गरेको पत्र पठायो ।

पुल बन्न लागेको भन्दा करिब ८ सय मिटर पूर्वबाट नदी बग्न थालेपछि हुलाकी सडक आयोजनाले पनि निर्माणको काम रोकेको थियो । पुलको प्राविधिक डिजाइन परिवर्तन गरेर स्पान थप्ने, नदी नियन्त्रणको काम, पुलको अप्रोच सडक बनाउने, बिम ढलान गर्नेलगायतको काम नयाँ ठेक्कामार्फत हुने आयोजना निर्देशक झाले बताए ।

‘निर्माण कम्पनीले बोलपत्र हालेपछि दुई महिना जति सम्झौतालगायत प्रक्रिया पूरा गर्न लाग्नेछ’, उनले भने, ‘ठेकेदारले निरन्तर काम गर्‍यो भने आगामी दुई वर्षमा पुल निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।’ पुल निर्माण अलपत्र भएकै अवस्थामा एक वर्षअघि हुलाकी सडक निर्देशनालयको पहलमा अभियान कन्सल्टेन्ट काठमाडौँले ‘रिभ्यू’ गरेको थियो ।

विज्ञसहितको टोलीले स्थलगत अनुगमन गरेपछि नदीले धार परिवर्तन गर्दा समस्या आएको भन्दै पुलको उचाइ नपुग्ने र बढाउनुपर्ने सुझाव दिएको थियो । हाल उक्त टोलीको सुझाव अनुसार नयाँ ठेक्कामार्फत काम गर्न लागिएको आयोजनाले जनाएको छ ।

निर्माणकै क्रममा वाग्मती नदी पूर्णरुपमा सर्लाहीतिर बग्न थालेपछि समस्या भएको हो । अहिले पुलको स्पान नदी किनारमा छ  भने नदी अर्कैतिर बगिरहेको छ । यो पुल बनेपछि तराई–मधेसका जिल्ला एक आपसमा जोडिने र लाखौँ स्थानीयवासीलाई आवतजावतमा सहजता थपिने स्थानीयवासीले बताएका छन् ।

यसैलाई मध्यनजर गर्दै संसदीय समिति, जिल्ला प्रशासन कार्यालय, हुलाकी सडक आयोजनाले अनुगमन गरी निर्माण थाल्न पटक–पटक दबाब दिँदै आएका थिए । काम रोकेको ठेकेदार कम्पनीले भने क्षतिपूर्तिको माग गर्दै दुई वर्षअघि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दाको फैसला गर्दै अदालतले पुल जुन अवस्थामा छ, त्यही अवस्थाबाट अर्को बोलपत्रमार्फत काम गराउन आदेश दिएको थियो । अदालतकै आदेशअनुसार ठेकेदार कम्पनीलाई क्षति पूर्तिबापत पुरानो कामको भुक्तानी दिन लागिएको आयोजनाले जनाएको छ ।

स्पान निर्माण गरेबापत लुम्बिनी बिल्डर्सले रु दुई करोड भन्दा बढी भुक्तानी लिन बाँकी रहेको आयोजना निर्देशक झाले बताए ।

निर्माणमा ढिलाइ किन ?

हुलाकी सडककै कारण पुल निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका विष्णु शर्माले बताए । उनका अनुसार काम बन्द भएपछि आयोजनाले नै समयमा ‘साइट’ उपलब्ध गराउन नसकेको र पुरानै दररेटमा काम गर्न नसक्ने भएपछि आफ्नो पक्षबाट ठेक्का तोडेको बताए ।

निर्माणको काम सुरु गर्न लाग्दा स्थानीय स्तरमा अवरोध भएपछि करिब १३ महिना साइट उपलब्ध हुन नसकेको ठेकेदार कम्पनीको भनाइ छ ।

आयोजनाले चाँडै काम सुरु गर्न निर्माण कम्पनीलाई धेरै पटक पत्राचार गरेको जनाएको छ । निर्माण कम्पनी, हुलाकी सडक निर्देशनालय र पुल महाशाखाका प्रतिनिधिबिच यसबीचमा धेरै पटक छलफलसमेत भएका थिए ।

निर्देशनालयले काम सुरु गर्न भनेपछि युद्ध स्तरमा काम सुरु भएको र नदीले धार बदलेपछि काम बन्द गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।

समयमै पुल बनेको भए मुख्यतः रौतहट र सर्लाहीवासीलाई आवतजावतमा निकै सहज हुन्थ्यो । अहिले दुवै जिल्लावासी डुङ्गा चढेर नदी वारपार गर्छन् । वर्षा याममा भने आवतजावत ठप्प हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस