नवलपुरमा राष्ट्रिय भेट्रान्स कप फुटबल सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवलपुरमा राष्ट्रिय भेट्रान्स कप फुटबल सुरु


२० पुस २०७८, मंगलबार


नवलपुर । नेपालीहरूको महान् पर्व माघेसङ्क्रान्तिको अवसर पारेर नवलपुरमा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ ।

सोमबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ गोछडामा सांसद तिलकबहादुर महत क्षेत्रीले प्रतियोगिताको उद्घाटन गरे ।

कार्यक्रममा सांसद क्षेत्रीले खेलाडीले देशको नाम विश्वमा चिनाउने भएकाले उनीहरू राष्ट्रको गौरव भएको बताए । देशलाई विश्वसामु चिनाउने खेल क्षेत्रको विकासका लागि आफू सदैव तयार रहेको क्षेत्रीले बताए ।

खेलाडी अनुशासित हुने भन्दै क्षेत्रीले मानव स्वास्थ्यका दृष्टिकोणले समेत खेल खेल्नु राम्रो भएकाले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्नतर्फ सरकारले लगानी गर्नुपर्ने बताए ।

रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर शाखाको आयोजनामा भएको प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), चितवन, काठमाडौँ, कास्की, मकवानपुर, सुर्खेत, पर्सासहितका जिल्लाबाट १२ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा विजेता हुने टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका अध्यक्ष भीमबहादुर महतोले बताए ।

यस्तै उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महतोका अनुसार प्रतियोगिताको सबैभन्दा बढी गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकले समेत नगद पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

चालिस वर्षमाथिका खेलाडीले मात्रै खेल्ने भेट्रान्स कप फुटबल प्रतियोगिता कावासोती–१७ गोछडामा रहेको सरस्वती माविको खेलमैदानमा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटनसत्रमा अध्यक्ष महतोले युवावस्थामा खेलकुदमा सहभागिता जनाउँदै आएका तर, ४० वर्ष नाघेपछि प्रतियोगितामा सहभागिता जनाउन नपाएका खेलाडीलाई भेट्रान्स फुटबल खेलले शारीरिक तथा मानसिकरूपमा तन्दुरुस्त राख्न मद्दत पुग्ने बताए ।

यसैबीच सोमबार भएको उद्घाटन खेलमा नवलपरासी पश्चिम भेट्रान्स टिम विजयी भएको छ । नेशनल भेट्रान्स चितवन र नवलपरासी पश्चिमबीच भएको खेलमा नवलपरासी पश्चिम १–२ गोलअन्तरले विजयी भएको हो ।

नवलपरासीको तर्फबाट कृष्ण शर्मा र नरबहादुर रानाले एक/एक गोल गरेका थिए, भने चितवनका लागि सोम लामाले एक गोल गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस