बैतडीमा बालबालिकालाई मोडर्ना खोप दिन सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बैतडीमा बालबालिकालाई मोडर्ना खोप दिन सुरु


७ पुस २०७८, बुधबार


बैतडी । बैतडीमा मङ्गलबारदेखि १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिन थालिएको छ ।

सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सुरु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए ।

करिब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै सुरु भएको अभियान पुस ११ गते सम्पन्न हुनेछ । मङ्गलबारदेखि जिल्लाको पुर्चौडी नगरपालिका, सिगास र डिलाशैनी गाउँपालिकाका विद्यालयमा खोप दिन थालिएको हो । यी तीन स्थानीय तहमा पुस ८ गतेसम्म अभियान सञ्चालन हुनेछ ।

दशरथचन्द, पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर गाउँपालिकामा आज पुस ७ देखि ९, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिकामा पुस ८ गतेदेखि १० र सुर्नया गाउँपालिकामा पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।

बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२ बालबालिका रहेका र उनीहरुलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको हो । जिल्लाभरी २५९ खोप केन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । बैतडीमा हालसम्म ७५ हजार बढीले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् । यस्तै खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ जनाले लगाएका छन् ।

सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस